भक्तपुर । भक्तपुर नगरमा पर्यटन प्रवर्द्धनका लागि ‘वाटर साइकल’ सञ्चालनमा ल्याइएको छ । ‘वाटर साइकल’ भक्तपुर नगरपालिकाको १ नम्बर वडामा रहेको पोखरी न: पुखु:मा सञ्चालनमा ल्याएको हो ।
नेपालमै पहिलो पटक सञ्चालनमा ल्याएको सो ‘वाटर साइकल’को उद्घाटन शनिबार गरिएको छ । भक्तपुर नगरपालिकाका खेलकुद संयोजकसमेत रहेका वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका अध्यक्ष तपेन्द्र तिमिल्सिनाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा वडाध्यक्ष श्यामकृष्ण खत्रीले वाटर साइकलले आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । साहसिक खेलसमेत भएकाले वाटर साइक्लिङ स्वास्थ्यको लागि पनि लाभदायक हुने खत्रीले बताए । उनले भक्तपुर नगरपालिकाले देशमै पहिलो पटक वाटर साइकल सुरु गर्न सकेकामा गौरवान्वित भएको पनि बताए ।
पानीमा चल्ने साइकल टिएन एड्भेन्चर्सले भक्तपुर नगरपालिकासँग सहकार्य गरी सञ्चालनमा ल्याएको सञ्चालक संस्थाका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जानकारी दिएका छन् । यसले मनोरञ्जन र एड्भेन्चर्स दुवै प्राप्त गर्न सकिने उनले बताए ।
यस्तै सुनकोशी गाउँपालिकाका अध्यक्ष तपेन्द्र तिमिल्सिनाले पर्यटनलाई जनजीविकासँग जोड्नु पर्ने भन्दै भक्तपुर नगरपालिकाले वाटर साइकल सञ्चालन गरी पोखरीलाई पर्यटन, रोजगारी र आम्दानीसँग जोड्न सकिने बताए ।
भक्तपुरको न:पुखु पछि सर्लाहीको बागमती नगरपालिकासँगको सहकार्यमा त्यहाँको भरत तालमा यो सञ्चालन गर्ने सहमति भइसकेको पनि सञ्चालन संस्थाको भनाइ छ ।
कहाँ छ न: पुखु: ?
भक्तपुरको दुधपाटीस्थित सिद्धपोखरीहुँदै भक्तपुर नगरतर्फ अघि बढ्दा करिब सय मिटरमै इताछेंमा न: पुखु: पर्दछ । भक्तपुरको एक्सप्रेस बसपार्कसँगैको प्रवेस गेटसँग जोडिएर न: पुखु: सुरु हुन्छ । जिल्ला सरकारी वकिलको कार्यालय र ज्ञान विजय आधारभूत विद्यालयको लोकेशन नक्सामा हेर्दै गए आए पनि न: पुखु: पुग्न सकिन्छ ।