थारु होमस्टेमा माछा, गँगटा र घुँगीसँगै सत्कार (तस्बिरसहित)

भाद्र ४, २०८० |भोटराज राई
थारु होमस्टेमा माछा, गँगटा र घुँगीसँगै सत्कार (तस्बिरसहित)

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १३ मा रहेको बहेडुवा थारु सामुदायिक होमस्टे (घरबास) मा थारु परिकार खुवाएर पाहुनाको स्वागत गरिन्छ । यसबाट पाहुनाहरु पनि लोभिएका छन् ।

त्यहाँ एकपटक पुग्ने पाहुनालाई पुन: जाँउजाउँ बनाउन होमस्टे सञ्चालकहरु जुटेका छन् । थारु समुदायको १५ घर मिलेर सञ्चालन गरेको होमस्टेमा पाहुनालाई थारु परिकारहरु खुवाइन्छ ।

थारु परिकारमा माछा, गँगटा, घुँगी, पकौडा, रोटीलगायत परिकार खुवाइन्छ । पाहुनाको चाहनाअनुसार लोकल कुखुरा, हाँस र परेवाको परिकार पनि उपलब्ध गराइन्छ ।

थारु संस्कारमै गरिएको स्वागत, सत्कार र मीठो परिकारले पाहुना खुसी हुन्छन् । यहाँ होमस्टेसँगै सामाजिक कामसमेत हुने गरेको बहेडवा होमस्टे सञ्चालन समितिका अध्यक्ष भगवान्‌सिंह चौधरीको भनाइ छ । ‘यो थारु होमस्टे जिल्लाकै पहिलो हो,’ उनले भने, ‘हाम्रो सत्कार र परिकारलाई प्रवर्द्धन गर्दै पाहुनालाई खुसी बनाउँछौं ।’


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।