काठमाडौं । नेपाल भ्रमणका लागि दुई सयभन्दा बढी बंगलादेशी पर्यटक चार्टर्ड जहाजबाट आइपुगेका छन् ।
बंगलादेशी पर्यटकको टोली शुक्रबार दिउँसो २ बजे नेपाल आइपुगेको हो । बंगलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए ।
बंगलादेशबाट एकसाथ यति धेरै पर्यटक नेपाल आएका हुन् । आज र भोलि गरेर बंगलादेशबाट करिब सात सय पर्यटक नेपाल आउने जनाइएको छ । पर्यटकको स्वागतका लागि विमानस्थल पुगेका नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थापाले बंगलादेशबाट होलिडे मनाउन आएको जानकारी दिए । उनले पछिल्लो तीन वर्षयता बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढिरहेको जनाए ।
‘आज र भोलि गरेर बंगलादेशको ठूलो टिम नेपाल आउँदै छ । करिब सात सयजति पर्यटक आउँदै हुनुहुन्छ,’ थापाले भने, ‘उहाँहरु होलिडे मनाउनका लागि यहाँ आउनुभएको हो । यसमा पर्यटन बोर्डले स्वागत गरेको हो । पछिल्लो दुई/तीन वर्षयता बंगलादेशका पर्यटकहरु बढिरहनुभएको छ ।’
त्यस्तै बंगलादेशी पर्यटक सेख अजरफ उद्दिनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको प्रतिक्रिया दिए । उनले नेपालमा स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको जनाए ।
‘हामीलाई नेपालमा धेरै राम्रो स्वागत गर्नुभयो । नेपाल घुम्नका लागि हामी एक्साइटेड छौं,’ उनले भने, ‘बंगलादेशले नेपाललाई घुम्नका लागि प्राथमिकतामा राखेको छ । नेपाल राम्रो देश पनि घुम्नका लागि । हिमाल, स्थानीय खाना, स्थानीय संस्कृति राम्रो छ ।’
पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।