काठमाडौं । आन्तरिक पर्यटनलाई आर्थिक क्षेत्रको महत्वपूर्ण आधार मानिन्छ । तर, विद्यमान पर्यटन ऐनले आन्तरिक पर्यटकलाई नै चिन्दैन । सरकारले २०३५ सालमा पर्यटन कानुन बनाउँदा आन्तरिक पर्यटनको अभ्यास र अवधारणा नै थिएन । तर अहिले पर्यटन क्षेत्रको दायरा फराकिलो भएको छ । १० लाख हाराहारीलाई रोजगारी दिएको पर्यटन क्षेत्रमा हजारौं आबद्ध छन् । फस्टाउँदो पर्यटन क्षेत्रलाई ध्यान दिँदै सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको छ ।
पछिल्लो समय नेपालमा आन्तरिक पर्यटन फस्टाउँदो छ । बिदा मनाउन नयाँ ठाउँ जाने प्रचलन बढेको छ । घुम्नकै लागि विदेश जाने नेपालीको संख्या पनि बढ्दै गएको छ । पछिल्लो एक वर्षमा मात्रै एक लाख ४५ हजार नेपाली घुम्नका लागि विदेश गएका छन् । तर, नेपालको विद्यमान पर्यटन ऐनले भने देशभित्रै वा विदेशमा घुम्न जाने नेपालीलाई पर्यटक मान्दैन । विदेशबाट नेपाल घुम्न आउनेलाई मात्रै पर्यटक मान्ने कानुनी प्रावधानका कारण पर्यटन क्षेत्रले अपेक्षित फड्को मार्न नसकेको जानकारहरुको बुझाइ छ ।
४५ वर्षअघि जतिबेला पर्यटन कानुन बन्यो, त्यतिबेला पर्यटनको दायरा पनि सीमित थियो । अहिले पर्वतारोहण, ट्रेकिङ, र्याफटिङ, प्याराग्लाइडिङदेखि योग तथा धार्मिकसम्मका दुई दर्जनभन्दा बढी विधामा पर्यटन क्षेत्र विस्तार भएको छ । विस्तारित क्षेत्रलाई पुरानो ऐनले समेट्न नसकेको गुनासो बढेपछि सरकारले नयाँ ऐनको तयारी गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको अवधारणापत्रलाई अर्थ र कानुन मन्त्रालयले सहमति दिइसकेका छन् भने मन्त्रिपरिषद्ले पनि सैद्धान्तिक स्वीकृति दिइसकेको छ । नयाँ ऐनको मस्यौदा तयार गर्न मन्त्रालयले पर्यटन माहाशाखा प्रमुख चक्र बुढाको संयोजकत्वमा सुझाव संकलन समिति बनाएको छ । समितिले एक महिनासम्म पर्यटन क्षेत्रका विज्ञ र व्यवसायीसाग सुझाव लिने छ । योसँगै समय सापेक्ष र पर्यटनमैत्री कानुन बनाउने मन्त्रालयको दाबी छ ।
अहिलेको कानुनले विद्यमान प्रविधिलाई समेत समेट्न सकेको छैन । डिजिटल इकोनोमी, ग्रिनइकोनोमी, क्यासलेस प्रविधिदेखि पर्यटनका विभिन्न आयामलाई समेत नयाँ ऐनमा समेट्नुपर्ने आवश्यकता छ ।
पर्यटन व्यवसाय पछिल्लो समय उद्योगकै रुपमा विकास भइसकेको छ । कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १ दशमलव ७८ प्रतिशत छ । पर्यटन क्षेत्रमा आएका नयाँ आयाम, विधा र प्रविधिलाई समेट्ने गरी पर्यटनमैत्री ऐन बनाउन सकेमा मात्रै मुलुकले यो क्षेत्रबाट अपेक्षित लाभ लिन सक्छ ।