तिलिचो (मनाङ) । यसपटकको अफ सिजनमा पनि मनाङको तिलिचो ताल पुग्ने आन्तरिक तथा बाह्य पर्यटक घटेका छैनन् । संसारकै सबैभन्दा उचाइँमा रहेको तिलिचो ताललाई गन्तव्य बनाएर दैनिक दर्जनौं पर्यटक मनाङ पुग्ने गरेका छन् ।
संसारकै सबैभन्दा उचाइँमा रहेको तिलिचो ताल उत्कृष्ट पर्यटकीय गन्तव्य बनिरहेको छ । मनाङको ङिस्याङ गाउँपालिका ९ मा पर्ने यो ताल समुद्र सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा छ । हुन त यो पर्यटकीय सिजन होइन तर पनि तिलिचो पुग्ने पर्यटक कम छैनन् । जोखिमपूर्ण यात्रापछि पुगेका पर्यटक तिलिचोको स्वर्गीय सौन्दर्यमा मोहित हुन्छन् ।
‘एकदमै सुन्दर ठाउँ छ । प्रकृति र दृष्य पनि राम्रो छ,’ थाइल्यान्डबाट आएका पर्यटक प्रुक भन्छन् । यस्तै भारतबाट आएकी सर्बिटो कनियाँले तिलिचो पुग्नुलाई आफू निकै भाग्यमानी भएको सुनाउँछिन् ।
तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किलोमिटर दूरीमा पर्छ । खाङसारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग चार घण्टाको पदयात्रापछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ । बेसक्याम्पमा एक रातको बासपछि झन्डै साढे ३ घण्टाको उकालो हिँडेर तिलिचो ताल पुगिन्छ । तालको वरिपरि देखिने मुक्तिनाथ, तिलिचो, नीलगिरिलगायत हिमशृंखलाले पर्यटक लोभ्याउँछन् ।
अन्तिम गन्तव्य तिलिचो नै हुने पर्यटकहरू प्रशस्तै भेटिन्छन् । यात्रा कष्टकर भए पनि मनोरम हिमाली दृष्यसँगै निकै उचाइमा रहेको तालसम्म पुगेपछि साहसिक विजयीका रुपमा पनि बाह्य पर्यटकहरुले लिने गरेका छन् ।
‘जोखिमपूर्ण र एड्भेन्चर बाटो छ,’ भारतबाट आएका नागेश बंसलले भने, ‘हिँडेर यहाँसम्म आइपुग्दा सबै थकान बिर्सिएँ । ’
तिलिचो धार्मिक रूपले पनि महत्त्वपूर्ण ताल हो । असोजदेखि पुससम्म तिलिचो पुग्ने उचित समय हो भने फागुनदेखि वैशाख दोस्रो सिजन हो छ । पृथ्वी राजमार्गस्थित तनहुँको डुम्रेदेखि लमजुङको बेशीसहरबाट मनाङ सदरमुकाम चामे हुँदै माथिल्लो मनाङको थाङसरसम्म जिपमा पुग्न सकिन्छ । तिलिचो जाने बाटो र ताल संरक्षणमा थप नीति र कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।