जुन महिनामा मात्रै ७२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

असार १७, २०८० |कान्तिपुर टीभी संवाददाता
जुन महिनामा मात्रै ७२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । कोभिड-१९ देखिएयताका वर्षहरूमा नेपालमा भित्रिने पर्यटकहरू घटेको भए पनि यस वर्ष कोभिड अघिकै हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

यस वर्षको जुनमा नेपालमा ७२ हजार २ सय ५० विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । कोभिड अगाडि अर्थात् सन् २०१९ को जुनमा ७४ हजार ८ सय ८३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

सन् २०१९ को जुन महिनाको तुलनामा यस वर्षको जुनमा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या ९६ दशमलव ४८ प्रतिशत पुगेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२० को जुनमा १ सय २ जना मात्र पर्यटक भित्रिएका थिए भने २०२१ को जुनमा १ हजार १ सय ८७ र २०२२ को जुनमा ४६ हजार ९ सय ५७ जना पर्यटक नेपाल आएका थिए ।

पछिल्लो ६ महिनामा कुल ४ लाख ६७ हजार ४ सय ८१ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यस्तै ७० हजार ९ सय ४२ जना विदेशी पर्यटक जुन महिनामा नेपालबाट बाहिरिएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.