काठमाडौं । अघिल्ला २ साता हामीले तपाईंहरुलाई पाटनदेखि चोभारसम्मका सम्पदाको यात्रा गरायौं । आज भने काठमाडौंको दक्षिण-पश्चिममा रहेको ऐतिहासिक र सांस्कृतिक सहर कीर्तिपुर पुग्दैछौं । पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्ने क्रममा तेस्रो प्रयासपछि कीर्तिपुर जितेको इतिहास छ। नेवार समुदायको बाहुल्य रहेको यस सहरको लोकप्रिय सम्पदा क्षेत्र बाघभैरव र उमामहेश्वरमा आज हामी तपाईंलाई पुर्याउनेछौं।
बल्खुबाट प्रवेश गर्ने क्रममा तलैबाट देखिन्छ थुम्कामा बसेको कीर्तिपुरको आकर्षक बस्ती । यहाँको भित्री बस्ती प्रवेश गर्न चारैतर्फ सिढीमार्ग छन्। त्यही सिढी चढ्दै हामी कीर्तिपुरको ऐतिहासिक बाघभैरव मन्दिरतर्फ लाग्यौं। सम्पदाले भरिपूर्ण कीर्तिपुरमा जताततै चैत्य तथा सत्तल भेटिन्छन् । पुराना शैलीका अधिकांश घरलाई नयाँले प्रतिस्थापित गरिसकेका छन् ।
नजिकै देखियो हाम्रो गन्तव्यस्थल, अर्थात् बाघभैरव मन्दिर । प्यागोडा शैलीमा निर्माण गरिएको बाघभैरव मन्दिर कीर्तिपुरको प्रसिद्ध मन्दिर हो। बाघभैरवको मूर्तिमा शरीरको भाग माटो तथा मुखाकृति चाँदीको छ। भैरवको जिब्रो भने छैन । बाघभैरव र्कीर्तिपुरवासीका आराध्यदेव मानिन्छन् । धार्मिक, सांस्कृतिक महत्वका साथै प्राचीन प्रस्तरकला र काष्ठकलाको अनुपम सङ्गम बाघभैरव मन्दिर कहिले स्थापना भयो भन्ने यकिन छैन । तर राजा शिवदेव तृतियले इसं १०९९ र ११२६ को बीचमा कीर्तिपुर स्थापना गरेको र पृथ्वीनारायण शाहले नेपाल उपत्यका जितेको ४३ वर्षपछि नेपाल सम्बत ९२३ मा बाघभैरव मन्दिरको जीर्णोद्दार गरेको इतिहास छ ।
मन्दिरले कीर्तिपुरको इतिहास झल्काउँछ। मन्दिरको गजुर रहेको भन्दा तल्लो तल्लामा लस्करै तरबार झुण्ड्याइएका छन्, जुन तरबार पृथ्वीनारायण शाहका सेनासँग लडाइँ गर्ने क्रममा स्थानीयले प्रयोग गरेको विश्वास गरिन्छ । काष्ठकलाको अनुपम उदाहरण बाघभैरव परिसरको ठूलो घण्टा पनि निकै आकर्षक छ। र्कीर्तिपुर डाँडाको बीच भागमा रहेको बाघभैरव मन्दिर परिसरमा गणेश, नारायण, इन्द्रायणी , यमलेश्वर महादेव, भवानी शंकर, नाग देवता लगायत अन्य मन्दिर पनि छन् । स्थानीयका अनुसार विसं २०१४ मा बाघभैरव खट परिक्रमा समिति स्थापना गरी नगरका भित्रि गाउँमा खटजात्रात्रको परम्परा थालिएको थियो । बाघभैरवको मूर्तिलाई २०३८ र २०६९ मा जीर्णोद्दार गरिएको थियो ।
बस्तीको बीचमा रहेको पोखरीले पनि यहाँको शोभा बढाएको छ। बाघभैरबबाट पश्चिमतर्फ लागेपछि कीर्तिपुरकै सबैभन्दा उचाइमा रहेको उमामहेश्वरको मन्दिर पुगिन्छ। उमामहेश्वर मन्दिर जाँदै गर्दै देखिने ठूला-ठूला भित्ते चित्रले कीर्तिपुर झल्काउँछन्। उमामहेश्वर शंकर पार्वतीको रुपमा पुजिन्छन् । यो मन्दिर १६५५ सालमा राजा सिद्धिनरसिंह मल्लले भगवान शिव र पार्वतीको आराधनाका लागि बनाउन लगाएको मान्यता छ । मन्दिरमा संरक्षकको रूपमा भीमसेन र कुबेरका मूर्ति राखिएका छन् । मन्दिर उक्लने खुड्किलाको दाँयावायाँ हात्तिका मूर्ति राखिएका छन् । मानिसहरु यहाँ पूजा आराधनाका साथै काठमाडौ उपत्यका अवलोकनका लागि पनि आउने गर्छन्।
काठका ढोका, खम्बा र टुँडाल तीन तल्ले उमामहेश्वरको मन्दिरका आकर्षण हुन् । मन्दिरमा विशेष गरी शनिबार र आइतबार दर्शनार्थीको भीड लाग्ने गर्छ। भाद्र पूर्णिमाका दिन उमामहेश्वरको आराधना गरी व्रत बस्ने परम्परा छ ।