एभरेष्ट महिला भलिबल लिग-इडब्लूभीएल दोस्रो संस्करणको खेल तालिका सार्वजनिक

भाद्र १७, २०८२ |खेल ब्युरो
एभरेष्ट महिला भलिबल लिग-इडब्लूभीएल दोस्रो संस्करणको खेल तालिका सार्वजनिक

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग-इडब्लूभीएलको दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता कर्णाली यश्विजले घरेलु टोली पोखरा निन्जाजसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । 

लिग शुक्रबारदेखि पोखरामा सुरु हुने भएको छ । 

पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्डहलमा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । 

सोही दिन अपरान्ह ४ बजे साविक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेड प्रतिस्पर्धा गर्ने छन् ।

भदौ २० देखि २८ गतेसम्म हुने प्रतियोगितामा कर्णालीसहित ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

लिग चरणमा सिंगल राउण्ड रोविन प्रणालीअनुसार १५ खेल हुनेछन् ।

अंक तालिकाको शीर्ष दुई स्थानमा रहने टोलीले भदौ २८ गते उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

गत वर्ष काठमाडौंमा सम्पन्न पहिलो संस्करणमा कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।