काठमाडौं । चीनले दोस्रो विश्वयुद्धमा जापानमाथि विजयको ८०औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजना गर्ने सैन्य परेडको भव्य तयारी गरेको छ ।
२६ राष्ट्र तथा सरकार प्रमुखका साथै विश्वभरबाट निम्त्याइएका ५० हजार पाहुना उपस्थित हुने सैन्य परेडका लागि बेइजिङको सुरक्षा व्यवस्था कडा पारिएको छ । परेडका लागि तियानमेन स्क्वयारलाई भव्य रुपमा सजाइएको छ भने राजधानीभर २ लाखभन्दा बढी झण्डा टाँगिएका छन् ।
यस्तै जापानविरूद्धको युद्धलाई देखाउने फूलका संरचना प्रमुख सडक र चोकमा राखिएका छन् । व्यापारिक क्षेत्रका भवन उज्यालो पार्न नयाँ लाइटस्केप समेत तयार गरिएको छ ।
परेडका लागि विद्यालय, व्यापारिक प्रतिष्ठान र होटलहरू दुई दिनका लागि बन्द गरिएका छन् । सडक, ओभरपास र पुलहरूमा चौबिसै घण्टा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने विदेशी पत्रकारलाई पनि निगरानी गरिएको छ ।
परेडमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ-उनलगायतका नेताहरू सहभागी हुनेछन् । उत्तर कोरियाली नेता सन् १९५९ पछि पहिलोपटक चिनियाँ सैन्य परेडमा सहभागी हुँदैछन् ।
पश्चिमा मुलुकहरुबाट भने सर्बिया र स्लोभाकियाका नेताहरू मात्र उपस्थति हुनेछन् । सैन्य परेडका लागि चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरूले महिनौं अगाडिदेखि तयारी गरेका थिए ।
यसको अभ्यास गोप्य राख्न चाङआन एभेन्युनजिकका बासिन्दालाई छतमा समेत ननिस्कन निर्देशन दिइएको थियो। परेडका क्रममा नयाँ हाइपरसोनिक मिसाइल तथा मानवरहित पानीमुनि चल्ने ड्रोनलगायतका १ सय किसिमका आधुनिक हतियार प्रणाली प्रदर्शन गरिने बताइएको छ ।
यो परेड चिनियाँ राष्ट्रपति सी चिनफिङको शक्ति र प्रभाव प्रदर्शन गर्ने अवसरका रूपमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् । चीनले आफूलाई नयाँ विश्वशक्ति र भविष्यको निर्णायक शक्ति सन्तुलनकर्ताका रूपमा देखाउन पनि यो परेड आयोजना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।