चितवनको पटिहानी नयाँ पर्यटकीय गन्तव्य बन्दै (भिडियो रिपोर्ट)

चैत्र १४, २०७९ |राजु चौधरी
 चितवनको पटिहानी नयाँ पर्यटकीय गन्तव्य बन्दै (भिडियो रिपोर्ट)

भरतपुर । चितवनको पर्यटकीय क्षेत्र भन्ने बित्तिकै जो कोहीले चिन्ने भनेकै सौराहा हो । तर पछिल्लो समय सौराहा मात्र होइन धेरैको रोजाइमा पटिहानी पनि पर्ने गरेको छ । भरतपुर-२२ मा पर्ने पटिहानी अहिले विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

भरतपुरको मुख्य बजार क्षेत्रबाट करिब १४ किलोमिटर दक्षिणमा अवस्थित पटिहानी अहिले उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न थालेको छ । विदेशी पर्यटकको रोजाइमा पर्न थालेको पटिहानीमा गत शनिबार जर्मनीबाट घुम्न आएको एउटा समूह रमाइलो गरिहेको भेटियो । कोरोना कहरले सुस्ताएको यहाँको पर्यटन हाल बढ्दै गरेको भीडले ब्यूँताउन लागेको देखिन्छ । राप्ती नदीमा हात्तीसँगै रमाइलो गर्दै भेटिएका पर्यटकहरु पटिहानीको वातावरण देखेर खुशी थिए ।

पटिहानीको शान्त र मनोरम वातावरणले पर्यटकलाई लोभ्याउँछ । पटिहानी पुग्ने पर्यटकले चितवन राष्ट्रिय निकुञ्जसँगै बग्ने राप्ती नदीमा घडियाल गोहीका साथै एक सिँगे गैँडालगायतका वन्यजन्तु अवलोकन गर्न पाउँछन् । खर्चालु पर्यटक तान्न यहाँ ठूला-ठूला होटलहरु समेत निर्माण गरिएका छन् । पटिहानीमा पर्यटकको बसाइँ लम्ब्याउन स्थानीय सरकारले पनि विभिन्न पूर्वाधार निर्माणका साथै समन्वयहरु गर्दै आइरहेको छ ।

पटिहानीमा स्वदेशी तथा विदेशी दुवैखाले पर्यटक लक्षित गरी पर्यटकीय संरचनाहरु निर्माण गरिएका छन् । स्वदेशी पर्यटकलाई लक्षित गरेरै निर्माण गरिएको अम्ब्रेला स्ट्रिट आकर्षणको केन्द्र बनेको छ । यहाँ आउने महंगा पर्यटकलाई लक्षित गर्दै पटिहानी क्षेत्रमा स्टार लेभलका रिसोर्टहरुसमेत खुलेका छन् । जसले गर्दा पटिहानीको पर्यटनले लय समाउन लागेको हो । यसले स्थानीयमा पनि खुशी छाएको छ ।

भरतपुर महानगरको सबैभन्दा नजिकको दूरीमा रहेको पटिहानी पुग्न निकै सहज छ । महानगरपालिकाभित्र बन्न लागेको चक्रपथ पनि यही क्षेत्र भएर जान्छ । पटिहानी भविष्यमा महत्वपूर्ण पर्यटकीय गन्तव्यमा आफूलाई उभ्याउने दिशामा छ । वार्षिक करिब २५ हजार पर्यटकहरु आउने पटिहानीमा अझै खर्चालु पर्यटकको संख्या बढाउने र औसत बसाइ अवधि लम्ब्याउन सक्ने हो भने यसको पर्याप्त लाभ मिल्नसक्ने देखिन्छ । 


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।