अतिक्रमणको चपेटामा फेवाताल, प्रतिदिन खुम्चिँदै छ क्षेत्रफल (रिपोर्टसहित)

चैत्र ४, २०७९ |भुपाल गुरुङ
अतिक्रमणको चपेटामा फेवाताल, प्रतिदिन खुम्चिँदै छ क्षेत्रफल (रिपोर्टसहित)

पोखरा । पोखराको पर्याय बनेको फेवातालको क्षेत्रफल दिन प्रतिदिन खुम्चिँदै छ । विश्व सिमसार सूचीमा सूचीकृत यो तालको क्षेत्रफल घट्ने मुख्य कारण मानव अतिक्रमण हो । अतिक्रमणले तालको सुन्दरतामासमेत ह्रास आएको छ ।

उहिलेको फेवा ताल कस्तो थियो भन्ने कुरा फेवा फाँटका ८४ वर्षीय पूर्णबहादुर थापालाई अझै राम्रो सम्झना छ । २०२० सालतिर फेवा फाँटमा एउटा पनि घर थिएन । बरु फाँटमा ससाना तालहरू थिए । तालको पानी पामेसम्मै पुग्थ्यो अग्लो ठाउँतिर मात्रै २/४ वटा घर थिए । अहिले हर्पनखोलाले धार परिवर्तन गरेको छ भने ताल पुरेर प्लटिङ गर्ने क्रम बढेको छ । 

२०१८ सालमा फेवा तालमा बाँध बनेपछि नेपाल-भारत सहयोग मिसनको प्रतिवेदनले तालको क्षेत्रफल २० हजार ३ सय ४४ रोपनी उल्लेख गरेको थियो । तर गण्डकी प्रदेश सरकारले गठन गरेको तालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले २०७८ भदौ २८ गते बुझाएको प्रतिवेदनमा ११ हजार २ सय ५५ रोपनी क्षेत्रफल कायम गरियो । 

समितिको प्रतिवेदनमा फेवातालको १ हजार चार सय ७९ रोपनी जग्गा अतिक्रमण भएको उल्लेख छ । तालको सिमसार क्षेत्रको थुप्रै भाग हाल आवास क्षेत्रमा परिणत भइसकेको छ भने धमाधम नयाँ संरचना थपिँदै छन् । 

फेवातालको जग्गामध्ये आठ हजार सात सय रोपनी पानीले ढाकिएको र २५ सय रोपनीभन्दा बढी क्षेत्रफल व्यक्ति तथा सरकारका नाममा र दर्ता छुटेको गरी फेवातालको कायम गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । तर आफ्नो नाममा भएको जग्गा भोग चलन गर्न पाउनुपर्ने भन्दै जग्गाधनीले रातारात संरचना बनाइरहेका छन् । 

२०७५ वैशाख १६ गते सर्वोच्च अदालतले ६५ मिटर कायम गरेको मापदण्ड घटाएर पोखरा महानगरले स्थानीय चुनावको मुखैमा ३० मिटर तोकेको थियो । यसको कार्यान्वयनमा भने अदालतले रोक लगाएको छ । 

फेवातालको क्षेत्रफल र विस्तारबारे दर्जनौँ अध्ययन समिति बनेर प्रतिवेदन बुझाएका छन् तर कार्यान्वयन भएको छैन । ताल पुर्दै धमाधम नयाँ संरचना थपिँदै जाँदा यसले सिमसारको क्षेत्रफल मात्रै घटाएको छैन, तालको प्राकृतिक स्वरूप नै बिग्रिएको छ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।