काठमाडौं । एक चिनियाँ एआई स्टार्टअप कम्पनीले अहिले विश्वबजार तताएको छ । केहि समययता विश्वभर चर्चा कमाएको ओपन एआईको ‘च्याटजिपिटी’लाई उछिन्दै चिनियाँ एआई स्टार्टअप ‘डीपसिक’ अमेरिकामा त सबैभन्दा लोकप्रिय एप बनेको छ नै, यसअघि प्रयोगकर्तामाझ लोकप्रियता कमाएका र भरमग्दुर व्यापार गरिरहेका टेक कम्पनीहरूलाई समेत धक्का दिएको छ ।
नेपालमा पनि यसको चर्चा र प्रयोग ह्वात्तै बढेको सामाजिक संजालमा यसबारे भइरहेको बहसले देखाउँछ । रोचक त के भने ‘डिपसिक’ सार्वजनिक प्रयोगमा आएको एक महिना पनि पूरा भएको छैन । शक्तिशाली मुलुकहरू कृत्रिम बौद्धिकता अर्थात् एआई प्रविधिमार्फत् प्रभुत्व जमाउने प्रयास गरिरहेकै बेला टिकटकमार्फत् विश्वलाई चुनौती दिइरहेको चीनकै अर्को एआई कम्पनीले यति चाँडै कसरी फड्को मार्यो ?
सन् २०२३ मा स्थापना भएको चिनियाँ प्रविधि कम्पनी हाइ फ्लायरले एआई स्टार्टअप ‘डीपसिक’लाई सन् २०२५ को जनवरी १० मा लन्च गरेको हो, जसका संस्थापक हुन् लिआंग वेनफेङ । तर यो एआई अमेरिकामा यति लोकप्रिय भयो कि दुई सातामै १६ लाख पटक डाउनलोड भइसकेको छ । हाल प्रचलनमा रहेका एआईभन्दा निकै कम लागत अर्थात् ६० लाख अमेरिकी डलरमा निर्माण भएको ‘डीपसीक’ ले सर्वाधिक चर्चामा रहेको ओपनएआईको च्याटजीपीटीलाई समेत उछिनेको छ भने माइक्रोसफ्टको च्याटबट कोपाइलटलाई समेत टक्कर दिइरहेको छ । एप्पल स्टोरमा सर्वाधिक डाउनलोड गरिएको एप बनेपछि यसले अमेरिकी प्राविधिक कम्पनीमाझ हलचल मच्चाएको छ भने विश्वकै ध्यान केन्द्रित गरेको छ ।
‘डीपसीक’ले अमेरिकामात्र नभएर जापान, ताइवान, दक्षिण कोरियाको एआईमा समेत चुनौती दिइरहेको छ । यो एआईका कारण अमेरिकी शेयर बजारमा सूचीकृत ठूला टेक कम्पनीहरूको शेयर मूल्यमा समेत व्यापक गिरावट आएको छ । सबैभन्दा ठूलो धक्का चिप निर्माता कम्पनी ‘एनभिडिया’ लाई पुगेको छ, कम्पनीको शेयर मूल्यमा आएको गिरावटका कारण यसले ५ सय अर्ब डलरभन्दा बढीको घाटा बेहोरेको छ । जबकि ‘डीपसीक’मा ‘एनभिडिया’ कै एच-८०० चिप प्रयोग गरिएको छ । डिपसिकको सुरुवातले अमेरिकाको मात्र नभई जापान, दक्षिण कोरिया र ताइवानको शेयर बजारमा पनि गिरावट ल्याएको छ ।
एप डेटा अनुसन्धान फर्म सेन्सर टावरका अनुसार, जनवरी १० मा रिलिज भएदेखि नै ‘डीपसिक’ भी-थ्री, पावर्ड एआई सहायक मोडलले धेरै लोकप्रियता हासिल गरिसकेको छ। यसका निर्माताहरूले ‘डिपसिक’ भी-थ्री मोडेलले थुप्रै ओपन सोर्स मोडेलहरूलाई पछि पारेको दाबी समेत गरेका छन् ।
चीनको हानझाउमा मुख्यालय रहेको चिनियाँ एआई स्टार्टअपले विश्वव्यापी रूपमा एआई जगतमा आफ्नो पाइला स्थापित गर्ने प्रयास गरिरहेको संकेत समेत गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्सको दौडमा यो चीनका लागि ठूलो उपलब्धि मानिएको छ भने यो स्टार्टअपले एआईमा अमेरिकालाई चुनौती दिन थालेको छ ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले त ‘डीपसिक’ अमेरिकाको प्रविधि उद्योगकै लागि चुनौती भएको टिप्पणी गर्नु भएको छ ।
यो पनि हेर्नुहोसः