काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका कञ्चनुपरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षसँग भेटेका छन् ।
विपिनको खोजीको लागि इजरायल पुगेकी आमा पद्मा र बहिनी पुष्पाले राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गर्नुभएको हो । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा भएको भेटवार्तामा राजदूत धनप्रसाद पण्डित पनि सहभागी हुनुहुन्थ्यो । भेटका क्रममा आमा पदमाले विपिनको तत्काल रिहाइका लागि पहल गरिदिन राष्ट्रपति हर्जोगसँग अनुरोध गर्नुभएको थियो ।
बहिनी पुष्पाले पनि बन्धक बनाइएका दाजुलाई सुरक्षित नेपाल फर्काउन विशेष पहल गर्न आग्रह गरेको दूतावासले जनाएको छ । संसद अध्यक्ष अमिरसँग पनि विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरिएको छ । अमिरले पनि विपिनबारे रिहाइको प्रयास जारी राखेको जवाफ दिनुभएको दूतावासले जनाएको छ ।
यसैबीच प्रधानमन्त्रीले इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी भएको बताउनु भएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानमन्त्री ओलीले विपिनको सुरक्षित रिहाइका लागि पहल र निरन्तर सम्वाद भइरहेको बताउनुभएको छ ।