चिनिया एआई स्टार्टअप 'डीपसीक'ले मच्चाएको तहल्का

माघ १५, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
चिनिया एआई स्टार्टअप 'डीपसीक'ले मच्चाएको तहल्का

काठमाडौं । चिनिया एआई स्टार्टअप ‘डीपसीक’ लन्च भएको दुई सातामै अमेरिकामा सर्वाधिक लोकप्रिय बनेको छ । एप्पल स्टोरबाट सबैभन्दा धेरै डाउनलोड भएको एपले ओपन-एआईको च्याट-जीपीटीलाई समेत उछिनेको छ ।

एआई बट ‘डीपसीक’ एप्पल स्टोरमा सबैभन्दा बढी डाउनलोड गरिएपछि यसले अमेरिकी आईटी कम्पनीमा तरंग उत्पन्न भएको छ । कम लागतमा निर्माण गरिएको एआई बट जनवरी १० मा लन्च गरिएको थियो ।

एआई बट लन्चले अमेरिकी सेयर बजारमा सूचीकृत रहेका ठूला टेक कम्पनीहरूको मूल्यमा व्यापक गिरावट आएको बताइएको छ ।

‘डीपसीक’ का कारण विशाल चिप निर्माता कम्पनी ‘एनभिडिया’ले सबैभन्दा ठूलो धक्का बेहोरेको छ । कम्पनीको शेयर मूल्यमा आएको गिरावटका कारण यसले ५ खर्ब अमेरिकी डलरभन्दा बढीको घाटा बेहोरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

डीपसीकको सुरुवातले अमेरिकाको मात्र नभई जापान, दक्षिण कोरिया र ताइवानको सेयर बजारमा पनि गिरावट ल्याएको बताइएको छ ।

डीपसीक आफ्ना प्रतिस्पर्धीहरूद्वारा निर्माण गरिएको एआई मोडेलभन्दा धेरै कम लागतमा बनाइएको हो ।

एप डेटा अनुसन्धान फर्म सेन्सर टावरका अनुसार जनवरी १० मा रिलिज भएदेखि नै डीपसीक भी–थ्री, पावर्ड एआई सहायक मोडलले धेरै लोकप्रियता हासिल गरेको छ ।

चिनियाँ एआई स्टार्टअपले विश्वव्यापी रूपमा आफ्नो प्रभुत्व स्थापित गर्ने प्रयास गरिरहेको बताइएको छ । आर्टिफिसियल इन्टेलिजेन्सको दौडमा चीनका लागि यो ठूलो उपलब्धि मानिएको छ । यो स्टार्टअपले एआईमा अमेरिकालाई चुनौती दिने समेत बताइएको छ ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले पनि चिनियाँ स्टार्टअप डीपसीकले अमेरिकाको प्रविधि उद्योगका लागि चुनौति र अवसर प्रदान गरेको बताउनुभएको छ ।



Enter Kantipur TV HD
Advertisement