आईसीटी अवार्डको ग्रान्ड फिनाले शुक्रबार, १५ विधामा पुरस्कार प्रदान हुने

पुस ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीटी अवार्डको ग्रान्ड फिनाले शुक्रबार, १५ विधामा पुरस्कार प्रदान हुने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको ग्रान्ड फिनाले पुस ५ गते शुक्रबार हुने भएको छ । काठमाडौंको बौद्धमा रहेको ह्यात रिजेन्सी होटलमा आईसीटी अवार्ड २०२४ मा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिने छ ।

सन् २०१६ देखि लिभिङ विथ आईसीटीले आयोजना गर्दै आइरहेको आईसीटी अवार्डको फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित स्टार्टअप, प्रडक्ट, इनोभेशन, उद्यमी, प्रोफेसनल, संघ संस्था गरी विभिन्न १५ विधाहरूमा विजेताको घोषणासँगै अवार्ड वितरण हुनेछ ।

यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरूलाई प्रोभिन्सियल स्टार्टअप आईसीटी रिकग्निशन २०२४ बाट समेत सम्मान गरिनेछ । यस्तै दक्षिण एसियाली देशहरूलाई लक्ष्यित गरिएको साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड सार्क राष्ट्रको सर्वोत्कृष्ट स्टार्टअपलाई प्रदान गरिने छ ।

प्रविधि क्षेत्रको विशेष उत्सवको रूपमा आयोजना हुने आईसीटी अवार्डको ग्रान्ड फिनालेमा मन्त्री, सांसद, उद्यमी, प्रोफेसनल लगायत स्वदेश तथा विदेशबाट करिब एक हजार विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ ।

आईसीटी अवार्ड पुरस्कार समारोह मात्र नभएर डिजिटल रूपान्तरण र इकोसिस्टमको सारथि भएको समारोहका संयोजक राजन लम्सालले बताउनुभयो ।

हरेक वर्ष आयोजना हुने आईसीटी अवार्ड कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा काम गर्न चाहने र गरिरहेकाहरूलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्दै आएको छ । साथै अवार्डमा प्रतिस्पर्धामा आएका स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरूले थप लगानी र बजार विस्तारको लागि अवसर समेत प्रदान गरिरहेको छ ।

अवार्ड विजेताले विभिन्न कम्पनीका अफरहरूसँगै ट्रफी र सम्मान प्राप्त गर्नेछन् भने एनसेल वुमन आइकन विजेतालाई ३ लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement