दूरसञ्चार सेवा दिने कम्पनीको कहिले सुधार हुन्छ गुणस्तर ?

मंसिर २, २०८१ |भरत रावल
दूरसञ्चार सेवा दिने कम्पनीको कहिले सुधार हुन्छ गुणस्तर ?

काठमाडौं । दूरसञ्चार सेवा उपयोग गर्ने हरेकजसोले अहिले पनि प्रश्न गर्छन्- सेवा प्रदायक कम्पनीहरूको गुणस्तर कहिले सुधार हुन्छ ? ग्राहक मात्रै बढाउन प्रतिस्पर्धा गर्ने तर आवश्यक पूर्वाधारमा चासो नदिँदा दूरसञ्चार सेवा प्रदायकको सेवामा सुधार हुन नसकेको हो । दूरसञ्चार सेवा प्रदायक कम्पनी फाइभ-जी अनुमतिको प्रतीक्षामा छन् तर अधिकांश ग्रामीण क्षेत्रमा टु जी नै राम्रोसँग चल्न सकेको छैन ।

आइतबार नेपाल टेलिकमको सेवा झन्डै एक घण्टा अवरुद्ध भयो । यसरी सेवा अवरुद्ध भएको यो पहिलो पटक भने होइन । पटक-पटक सेवा अवरुद्ध हुँदै आए पनि नेपाल टेलिकमले दिगो समाधान दिन सकेको छैन । सञ्चार जस्तो अत्यावश्यक सेवा किन अवरुद्ध हुन्छ भन्ने जवाफ टेलिकमले दिन पनि आवश्यक ठानेको छैन । त्यति मात्रै होइन दिनदिनै इन्टरनेट प्रयोगकर्ता बढेको भए पनि ग्रामीण क्षेत्रमा मात्र होइन, सहरी क्षेत्रमै राम्रोसँग चल्दैन ।

नेपालका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू फाइभ जी अनुमतिको पर्खाइमा छन् । तर ग्रामीण क्षेत्र त परको कुरा काठमाडौं, पोखरा, चितवन, विराटनगर जस्ता महानगरपालिकामै उपभोक्ताले राम्रोसँग इन्टरनेट चलाउन पाएका छैनन् । ठूला सहरभन्दा बाहिरका जिल्ला सदरमुकाम र केही व्यापारी केन्द्र बाहेक अन्य ठाउँमा आधारभूत सेवा समेत गुणस्तरीय हुन सकेको छैन । तर टेलिकम भने गुणस्तर सुधार भएको दाबी गर्छ ।

नेपाल टेलिकम र एनसेल जस्ता ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनीको मात्रै होइन अन्य इन्टरनेट सेवा प्रदायक र केबलहरूको अवस्था पनि उस्तै छ । कम मूल्यमा बढी क्षमताको इन्टरनेट र केवल टेलिभिजन दुवै दिने भन्दै ग्राहक बढाउने होडबाजीमा लागेका कम्पनीहरूले सेवाको गुणस्तरमा भने सुधार गर्न सकेका छैनन् । नियामक निकायले पनि यस्ता कम्पनीहरूको अनुगमन गर्न चासो दिएको छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकमा इन्टरनेट चलाउनेको सङ्ख्या मात्रै ४ करोड ३५ लाख नाघेको छ । तर उच्च गतिको इन्टरनेट अर्थात् फोर जी चलाउनेको सङ्ख्या भने २ करोड २२ लाख मात्रै छ । ५० प्रतिशतभन्दा बढी त अझै २ जी र ३ जी मै सीमित छन् ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement