एआई प्रविधि कुन मन्त्रालयले हेर्ने ? अन्योलमा सरकार

चैत्र १२, २०८० |जितेन्द्र झा
एआई प्रविधि कुन मन्त्रालयले हेर्ने ? अन्योलमा सरकार

काठमाडौं । सूचना प्रविधिको नवीनतम् प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई प्रयोगको सकारात्मक र नकारात्मक पक्षबारे विश्वभर विभिन्नखाले बहस भइरहेका छन् । तर, यसबारे नेपालमा खासै चर्चा भएको छैन । चर्चाको त कुरै छाडौं एआई प्रविधि कुन मन्त्रालयले हेर्ने भन्ने विषयमै सरकार अन्योलमा छ ।

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग गरेर शिक्षा, स्वास्थ्य र सूचना प्रविधिका क्षेत्रमा नेपालले लाभ लिन चुकिरहेको विज्ञहरुले बताउने गरेका छन् । एआईका जानकारहरुका अनुसार यसले सिर्जना गरेको अवसरबाट नेपालले लाभ लिन सक्ने थुप्रै क्षेत्र छन् । प्रविधिको क्षेत्रमा रोजगारीका पर्याप्त सम्भावनाको ढोका खोलेको छ । तर, नेपाल सरकारले यसको विकास र उपयोगमा पहलै गरेको छैन । सूचना प्रविधि पढिरहेका नेपाली विद्यार्थी सक्षम छन् तर उनीहरुका लागि सामान्य तालिम र प्रशिक्षण पनि नरहेको एआई इन्जिनियर डा. समीर मास्के बताउँछन् ।

आर्टिफिसियल इन्टेलिजेन्स कम्प्युटरको क्षमता हो । कम्प्युटरको डाटामार्फत असीमित जानकारी जुटाएर यसले अहिले कम्प्युटरले गरिरहेको भन्दा कैयौं गुणा बढी मानिसको कामलाई सहज बनाउन सक्छ । एआई क्षमतायुक्त भएपछि कम्प्युटरले मानिसजस्तै सिक्न, बोल्न, तर्क दिन र सवाल जवाफ गर्न सक्छ । सिकेका कुराबाट योजना बनाउन र समस्या समाधानका उपाय पनि सुझाउन सक्छ । तर, नेपाल सरकारलाई भने एआईबारे अवधारणा बनाउनै धौ-धौ परेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले एआईबारे सरकारको आधिकारिक धारणा बनाउन काम सुरु गरेको भनेर प्रचार गरे पनि यसबारे खासै काम अघि बढ्न सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुसमा एक वर्षका उपलब्धि सुनाउने बेला अब एआईको प्रयोग गरी राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्ने बताएका थिए । तर यसमा केही पनि प्रगति भएको छैन । न्यून बजेट र दक्ष जनशक्ति अभावका कारण सरकारी सेवामा प्रविधिको प्रयोग चुनौतीपूर्ण छ । नेपालबाट एक वर्षमा ६७ अर्ब रुपैयाँको सूचना प्रविधिसँग सम्बन्धित सेवा निर्यात भएको एक अध्ययनले देखाएको छ । नेपाली युवाहरु नेपालमै बसेर आईटीसँग सम्बन्धित क्षेत्रमा काम गरेर यसरी आर्जन गरिरहँदा पनि सरकारले यो क्षेत्रलाई प्राथमिकता नदिएको एआईविज्ञ सुरेश मानन्धर बताउँछन् ।

एआई प्रविधिको दुरुपयोग भएमा व्यक्तिको गोपनीयता हनन् हुने जोखिम भएकाले नियमन गर्न पर्याप्त कानुनको खाँचो रहेको विज्ञहरुको भनाइ छ । साथमा, एआईको विकासले कतिपय क्षेत्रमा रोजगारीका अवसर खुम्चिने जोखिम रहेको पनि विज्ञहरुले टिप्पणी गर्ने गरेका छन् ।

यो पनि...

एआई : वरदान कि अभिशाप ? (फायरसाइडमा कम्प्युटर वैज्ञानिक समीर मास्के)


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement