काठमाडौं । बैंकमा पैसा राखेको छु भनेर ढुक्क भएर सुतेको मानिस बिहान उठ्दा खाता रित्तिएको थाहा पायो भने कस्तो होला ? यस्तो अप्रत्यासित घटनाको सिकार कतै तपाईं पनि हुनुभएको छ कि ? यदि छैन भने सचेत हुनुहोस् ह्याकरले कुनै पनि बेला खाताबाट रकम चोर्न सक्छ । विद्युतीय कारोबार बढ्दै जाँदा यस्ता घटना बढिरहेका छन् ।
बिहान उठ्दा मोबाइलमा- तपाईँले थाहै नपाइ बैंक खाताबाट लाखौँ रुपैयाँ झिकेको म्यासेज देखियो भने कस्तो लाग्ला ? तपाईंले पैसा ट्रान्सफर नै गर्नुभएको छैन । तर खाता भने रित्तिसक्यो । हो यस्तै पीडाबाट गुज्रिएका छन् ललितपुरका प्रविन बस्नेत । फागुन ७ गते उनको मोबाइलमा साढे ६ लाख रुपैयाँ बैंकबाट निकालिएको म्यासेज आयो । तीनवटा बैंकबाट पैसा झिकिएको थियो ।
कनेक्ट आईपीएस एप प्रयोग गरी वाणिज्य बैंक, एनआइसी एसिया र नबिल बैंकका खाताबाट पैसा झिकिएको बस्नेतको भनाइ छ । पैसा चोरी भएपछि उनले तीनवटै बैंक, कनेक्ट आईपीएस, सीआईबी, साइबर ब्युरो र राष्ट्र बैंकसम्म उजुरी गरेका छन् ।
मोबाइल बैंकिङ एप वा वालेट ह्याक गरेर साइबर अपराधीले पैसा ट्रान्सफर गरेर चोर्न सक्छन् । प्रविनले उजुरी गरेपछि दुई लाख ५० हजार भने फिर्ता आयो तर बाँकी रकमको अत्तपत्तो छैन । कनेक्ट आईपीएसका सूचना अधिकारी मुन्नी राजभण्डारी भने ठगीबाट बच्न प्रयोगकर्ता आफैं सचेत हुनुपर्ने तर्क गर्छिन् ।
तथ्यहरुले के देखाउँछ भने यस्ता अनलाइन ठगीका घटना सार्वजनिक बिदाको अघिल्लो दिन पारेर बढी हुने गरेका छन् । सार्वजनिक बिदाका दिन बैंक मात्र नभएर प्रहरी कार्यालय पनि बन्द हुन्छन् । जसले गर्दा पैसा ट्रान्सफर गर्न प्रयोग भएका खाता रोक्का गर्न समय लाग्छ ।
खातामा भएको रकम कसरी हुन्छ गायब ?
नेपाल प्रहरीको साइबर ब्युरोको तथ्यांकअनुसार गत आर्थिक वर्षमा अनलाइनबाट पैसा चोरीका १८ सयवटा उजुरी परेका थिए । यो आर्थिक वर्षको आठ महिनामा मात्रै यस्तै अनलाइन ठगीका झन्डै २४ सयवटा उजुरी परिसकेको ब्युरोका प्रवक्ता दीपकराज अवस्थी बताउँछन् । यसैबाट पनि थाहा हुन्छ यस्ता घटना कति बढिरहेका छन् भनेर ।
राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोडको हाराहारीमा छन् । इन्टरनेट बैंकिङका ग्राहक १८ लाख छन् । कनेक्ट आईपीएस प्रयोगकर्ता १२ लाख छन् । गत माघमा एक करोड ३० लाखपटक क्युआर कोड स्क्यान भएको छ ।
यसरी डिजिटल भुक्तानीबाट झन्डै ३८ अर्बको कारोबार भएको छ । डेबिड वा क्रेडिट कार्ड नम्बर, इमेलको पासवर्ड, ओटीपी कोड, अनलाइन बैंकिङ पासवर्ड तथा जस्ता विवरण गोप्य राख्न नसक्दा र पर्याप्त जानकारी नभएका वेबसाइट प्रयोग गर्दा पनि ठगीको सिकार हुने गरेको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरुप्रसाद पौडेलको भनाइ छ ।
ह्याकरले डाटासम्म पहुँच पुर्याएर बैंक खाता नै रित्याइदिने जोखिमबारे सबैजना सचेत हुनै पर्छ । यसबारे आफ्ना ग्राहकलाई सचेत गराउने जिम्मेवारी बैंक तथा वित्तीय संस्थाहरु र डिजिटल भुक्तानी एप सञ्चालक कम्पनीहरुको पनि हो ।