सफ्टवेयर दुरुपयोग गरी कर्मचारी र बिचौलियाले निकाले नक्कली लाइसेन्स

फाल्गुन २२, २०८० |कान्तिपुर टीभी संवाददाता
सफ्टवेयर दुरुपयोग गरी कर्मचारी र बिचौलियाले निकाले नक्कली लाइसेन्स

काठमाडौं । विद्युतीय सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रणालीमा प्राविधिक त्रुटि हुँदा पनि सम्बन्धित निकायले समाधान गर्न नसकेकाले दुरुपयोग भएको छानबिनका क्रममा देखिएको छ ।

सफ्टवेयर दुरुपयोग गरेर कर्मचारी र बिचौलियाले नक्कली लाइसेन्स नै निकालेको घटना सार्वजनिक भएपछि सरकारले सफ्टवेयरको प्राविधिक परीक्षण गराएको हो । प्राविधिक त्रुटिकै कारण फर्जी लाइसेन्स जारी हुने अवस्था सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ ।

टेक्निकल अडिटका क्रममा लाइसेन्स सफ्टवेयर खरिद गर्दा नै जीर्ण भइसकेको प्रविधि प्रयोग भएको पाइएको हो । यसले गर्दा हाल ती सफ्टवेयरलाई अपडेट गर्ने, मर्मतसम्भार गर्ने काम पनि राम्रो नभएको प्रधानमन्त्रीका आईटी सल्लाहकार प्रकाश रायमाझीले जनाए ।

सफ्टवेयरका महत्त्वपूर्ण सूचना रहेको डिस्क ड्राइभ खिया लागेको अवस्थामा भेटिएको छ । रायमाझीका अनुसार प्रधानमन्त्री कार्यालयले ती सफ्टवेयरमा भएका प्राविधिक त्रुटिबारे छानबिन गरेको हो । एक दशक पुरानो र अपडेट गर्न नसकिने सफ्टवेयर र हार्डवेयरबारे छानबिन गर्न पनि समस्या भएको थियो ।

सफ्टवेयर दुरुपयोग गरी नक्कली लाइसेन्स निकाल्ने गिरोहबारे नेपाल प्रहरीले छानबिन गर्दै छ । टेक्निकल अडिटले प्रहरीको छानबिनमा समेत सहयोग पुग्ने छ । आठ वर्षअघि खरिद भएको लाइसेन्स सफ्टवेयर पटक-पटक विवादमा आउने गरेको छ ।

सरकारी निकायले प्रयोग गरेका सूचना प्रणालीको अनुगमन र सम्परीक्षण सूचना प्रविधि विभागले गर्नुपर्ने हो । तर विभागले प्रभावकारी अनुगमन गर्न सकेको छैन । सरकारी निकायका सूचना प्रविधि प्रणाली दुरुस्त नहुँदा समस्या आउने र अनलाइनका नाममा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement