काठमाडौं । दूरसञ्चार प्राधिकरणले टेरामक्स जडान नगरेको भन्दै नेपाल टेलिकम र एनसेललाई कारबाही गरेको छ ।
प्राधिकरणले दुवै दूरसञ्चार कम्पनीको सहजीकरण रोक्ने निर्णय भएको जनाएको छ । प्राधिकरणले सेवा प्रदायकमाथि कारबाही सुरु गरेपछि सेवाको गुणस्तर जाँच्नका लागि ल्याइएको प्रविधि टेरामक्स जडान झन् पेचिलो हुने भएको छ ।
नेपाल टेलिकम र एनसेलजस्ता कम्पनीको सेवाको गुणस्तर र शुल्कलगायत विषय जाँच्न मिल्ने उद्देश्यले ल्याइएको टेरामक्स प्रविधि जडान नभएपछि दूरसञ्चार प्राधिकरण कारबाहीमा उत्रिएको हो ।
टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टमलाई छोटकरीमा टेरामक्स भनिन्छ । साउन ८ गते प्राधिकरणले एनटीसी र एनसेललाई चिठी पठाउँदै सात दिनभित्र प्रविधि जडान गर्न निर्देशन दिएको थियो । तर एनटिसी र एनसेल दुवैले टेरामक्स जडान अस्वीकार गरे ।
एनसेलले ठाडै अस्वीकार नगरेर प्रविधि जडानको सम्भाव्यता अध्ययनका लागि साउन १२ गते पत्राचार गरेर १५ दिनको समय माग्यो । एनसेलले अध्ययनका लागि मागेको समय गुज्रिँदासम्म कुनै पत्राचार नगरेकाले कारबाही स्वरुप सहजीकरण रोकिने प्राधिकरणले जनाएको छ ।
‘कुनै उपकरण ल्याउनु पर्यो भने प्राधिकरणको सिफारिस चाहिन्छ । त्यो सिफारिस प्रधिकरणबाट हुँदैन’, नेपाल दूरसञ्चार प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले भने, ‘विदेशबाट ब्याड्विथ ल्याउनु पर्यो, नेपालबाट डलर बाहिर पठाउनु पर्यो पनि प्राधीकरणबाट सिफारिस हुनु पर्छ त्यो हुँदैन । यी सुविधाहरू रोकिन्छ ।’
दूरसञ्चार सेवाको नियामक निकाय प्राधिकरण र दूरसञ्चार सेवा दिने कम्पनीहरुबीच टेरामक्सको उद्देश्य र कामबारे बुझाइमै भिन्नता छ । प्राधिकरणले दूरसञ्चार कम्पनीहरुको राजस्व घट्नु शंकास्पद भएकाले के कारणले राजस्व घटेको हो त्यो पत्ता लगाउन चाहेको बताएको छ ।
त्यसैगरी सेवाको गुणस्तरको परीक्षण गर्ने र कलबाइपास गर्ने गिरोह पत्ता लगाउन टेरामक्स जडान आवश्यक रहेको जिकिर प्राधिकरणको छ । प्राधिकरणले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको हवाला दिँदै कल बाइपासले २०६८ देखि ७६ सम्म २१ अर्ब राजस्व गुमेको बताएको छ ।
प्राधिकरणले टेरामक्सले कसैको गोपनीयता हनन् हुने आशंका चिर्न थर्ड पार्टी अडिट गर्न सकिने भन्दै लचकता देखाएको छ । टेरामक्स प्रविधिले ग्राहकको गोपनीयता सुरक्षित गर्न डाटालाई इन्क्रिप्ट गरेर मात्र पहुँच दिन भनेको छ । इन्क्रिप्टेड डाटाले गोपनीयतामा कुनै असर नपर्ने प्राधिकरणको दाबी छ ।
व्यक्तिको परिचय खुल्ने कुनै पनि जानकारी जस्तै नाम, नम्बर, लोकेसन आफूहरुले नमागेको प्राधिकरणले जनाएको छ । ग्राहकको कुराकानी सुन्ने र एसएमएस पढ्ने प्रविधि टेरामक्समा नरहेको प्राधिकरणको दाबी छ ।
नेपाल टेलिकमले प्राधिकरणले टेरामक्स जडानको कार्यविधि बनाए जडान गर्न सहज हुने बताएको छ । तर, प्रविधि जडानको विषय ग्राहकको गोपनीयतासँग समेत जोडिएको भन्दै एनटीसीले प्राधिकरणको निर्देशन अस्वीकार गरेको हो । एनसेलले टेरामक्स प्रविधिबारे स्पष्ट नभएसम्म जडान नगर्ने बताएको छ ।
दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि जडानका लागि दूरसञ्चार ऐनलाई टेकेर कार्यविधि बनाउन गृहकार्य थालेको जनाएको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय कलहरुको कारोबार रकम, आयको तथ्यांक र डाटा सर्भिसको जानकारी बाहिरिएमा व्यापारिक रणनीतिमै असर गर्ने सेवा प्रदायकको बुझाइ छ ।
अहिले नियमनकारी निकायसँग कुनै प्रविधि नभएकाले टेलिकम कम्पनीले दिएको तथ्यांक पत्याउनु बाहेक कुनै विकल्प छैन । दूरसञ्चार सेवाको गुणस्तरबारे ग्राहकहरुका गुनासाकोसमेत सम्बोधन गर्न सक्ने प्रविधिको अभाव रहेको दूरसञ्चार क्षेत्रका जानकारहरुको टिप्पणी छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको दूरसञ्चार विधेयकको मस्यौदामा सरकारले चाहेमा जुनसुकै व्यक्तिको कल रेकर्ड गर्न सक्ने प्रावधान राखिएको छ ।