काठमाडौं । सरकारी निकायमा प्रयोग हुने कम्प्युटरलगायत उपकरण मर्मत र लिलामी गर्दा त्यसमा रहेका गोप्य सूचना चुहावट हुने जोखिम रहेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी निकायलाई सजग गराएको छ । मन्त्रालय मातहतको राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूहले सरकारी गोप्य डाटामा अरुको पहुँचमा हुन नदिन सजगता अपनाउन सूचना जारी गरेको हो ।
सूचना प्रविधिका उपकरण मर्मतका लागि पठाउँदा वा लिलामी गर्दा राज्यका कतिपय गोप्य सूचना अरुले सहजै प्राप्त गर्न सक्छन् । डाटा नमेटी हार्ड डिस्क लिलामी नगर्न सूचना जारी गरिएको हो । सूचनामा हार्ड डिस्क, मेमोरी र स्टोरेज बिना नै मर्मतका लागि पठाउन भनिएको छ । स्टोरेज डिभाइस झिकेर मात्र सूचना प्रविधिसम्बन्धी उपकरणहरुको लिलामी गर्न सुझाव दिइएको छ । काम नलाग्ने अवस्थाको स्टोरेज डिभाइसलाई नष्ट गर्न भनिएको छ ।
‘अहिले सरकारी गोप्य सूचनाहरु अन्यत्र जाने सम्भावना एकदमै बढेको छ,’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले भने, ‘कम्प्युटर मर्मत र लिलामीमा सावधानी अपनाउँदा मात्र पनि यस्ता जोखिमबाट बच्न सकिन्छ ।’
साइबर आक्रमण भएमा वा कुनै शंकास्पद इमेल तथा लिंक आए सोको जानकारी राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूहलाई गराउन भनिएको छ । इन्टरनेट चलाउँदा सजगता अपनाउने, सुरक्षित पासवर्ड राख्ने, सुरक्षाका नवीनतम् प्रविधि प्रयोग गर्नेलगायतका सुझाव दिइएको छ ।