नेपाली क्रिकेटका म्याच विनर कुशललाई ‘ए’ टिमबाट कमब्याकको अवसर

भाद्र १, २०८३ |सविना कार्की|सुवास रोकाया
नेपाली क्रिकेटका म्याच विनर कुशललाई ‘ए’ टिमबाट कमब्याकको अवसर

काठमाडौं । नेपाली क्रिकेटका सबैभन्दा सफल ओपनर हुन् कुशल भुर्तेल । 

ओपनरको रुपमा जस्तो सफलता उनले अरु पोजिसनमा पाउन सकेका छैनन् । कुशलले प्रारम्भिक क्रममा ब्याटिङ गर्न थालेसँगै नेपालीको शीर्ष क्रम सन्तुलित र बलियो बनेको छ । तर, आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणका क्रममा खराब प्रदर्शन गरेपछि उनलाई एसीसी प्रिमियर कप खेल्ने टिम समावेश गरिएन । 

पुनरागमनको मार्गका रुपमा उनले नेपाल 'ए' टिमबाट अस्ट्रेलिया भ्रमण गर्दै छन् । जहाँ नेपालले टप एन्ड टी-ट्वेन्टी सिरिजसहित विभिन्न टिमसँग एकदिवसीय अभ्यास खेल खेल्ने छ ।

२०७८ सालको सुरुवातमै तत्कालीन मुख्य प्रशिक्षक डेव ह्वाटमोरले मलेसिया, नेदरल्यान्ड्स र नेपाल सम्मिलित त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजमा कुशल भुर्तेल र आसिफ शेखलाई डेब्यूको अवसर दिँदै प्रारम्भिक जोडीको रुपमा मैदान उतारे ।

ह्वाटमोरको यो निर्णयसँगै नेपाली क्रिकेटले बलियो ओपनिङ जोडी पाएको थियो । त्यसयता ओडीआई र टी-२० आईमा पहिलो रोजाइको ओपनिङ जोडी बनेका यी दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै धेरै कीर्तिमान बनाएका छन् । तर, आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणका क्रममा खराब प्रदर्शन गरेपछि कुशल नेपाल 'ए' टिममा सीमित भएका छन् ।

कुशलले एसीसी प्रिमियर कप खेल्ने टिममा नअटाउनु सामान्य भएको बताएका छन् । उनले अस्ट्रेलिया भ्रमणलाई पुनरागमनको अवसरका रुपमा लिए । 'ए' टिमका कप्तान अनिल शाहले रमाइलो शैलीमा कुशल नआएको भए हुन्थ्यो भन्ने प्रतिक्रिया दिए ।

कुशल नेपाली क्रिकेटका म्याच विनर खेलाडी हुन् । ओडीआईमा उनले ३० भन्दा बढी रन बनाएका २१ खेलमा नेपालले १४ जित हात पार्दा ७ खेलमा मात्र हार बेहोरेको छ । उनले ५० रनभन्दा माथि स्कोर गरेका ११ खेलमा नेपालले ८ जित र मात्र ३ हारको सामना गरेको छ । 

शतक प्रहार गरेका २ खेलमा नेपालले शतप्रतिशत नतिजा हात पारेको छ । उनका दुवै शतक रन चेजमा आएका हुन् । ओडीआईमा नेपालका लागि सर्वाधिक तेस्रो रनकर्ता कुशलले टी-२० आईमा ३ शतक प्रहार गरेका छन् । उनी दुवै फर्म्याट गरी नेपालका लागि सर्वाधिक ५ शतक प्रहार गर्ने खेलाडीसमेत हुन् । उनी आएपछि 'ए' टिम कस्तो बन्यो त ?

नेपालका लागि कुशल निकै सुरक्षित फिल्डर पनि हुन् । ओडीआईमा ४७ क्याच समातेका उनी नेपालका लागि सर्वाधिक क्याच समात्ने फिल्डर पनि हुन् । २०२६ मा ओडीआई क्रिकेटका ९ खेलमा १ शतकसहित २ सय ४७ रन बनाए पनि पछिल्ला ११ अवे खेलमा अर्धशतक प्रहार गर्न नसक्दा उनलाई लय समात्न नेपाल 'ए' मा पठाइएको हो । 

सन् २०२१ अप्रिलमा नेदरल्यान्डविरुद्ध टी-२० आई र सोही वर्ष सेप्टेम्बरमा पपुवा न्यूगीनीविरुद्ध ओडीआई डेब्यू गरेका कुशल त्यसयता नेपालको सिनियर टिमले खेलेका हरेक अन्तर्राष्ट्रिय प्रतियोगिता र सिरिजमा टिममा सामेल थिए । चोटका कारण आक्कल झुक्कल प्लेङ ११ बाट बाहिर रहे पनि राष्ट्रिय टिमबाटै बाहिरिएको भने यो पहिलो पटक हो । 

अब कुशलले अस्ट्रेलिया भ्रमणका क्रममा उत्कृष्ट प्रदर्शन गर्दै कप्तान, चयनकर्ता र क्यानसामु आफूलाई प्रमाणित गर्नुपर्नेछ ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।

Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।