
काठमाडौं । युरोपमा जसले राज गर्यो विश्व फुटबलमा कहलिएको नाम उसकै हुन्छ ।
यो लामो समयदेखिको प्रवृत्ति नै हो । तर, कुनै समय युरोप र विश्व फुटबलका नामुद स्टारहरू आफ्नो करिअरको उत्तरार्द्धमा पुगेपछि भने उनीहरू अमेरिका, साउदीतिरका लिगमा पुगिरहेका छन् । युरोपमा कहलिएका फुटबलरहरूको पछिल्लो समय नयाँ गन्तव्य बनिरहेको छ- टर्कीको सुपर लिग ।
हालै मात्र इजिप्टका मोहमद सलाहले लिभरपुल छाडेर टर्कीको ट्राबजोनस्पोर रोज्नु र भिक्टर ओसिमहेन जस्ता युवा स्टारसमेत गालातासारेमा देखिनुले यसको पुष्टि गर्छ ।
टर्कीमा के छ त त्यस्तो ?
मोहमद सलाह, भिक्टर ओसिमहेन, इल्काय गुन्डोगान, एडिन जेको र डुसान टाडिचजस्ता नामहरू अहिले टर्कीको 'सुपर लिग' मा छन् । यी खेलाडीले टर्की रोज्नुको पहिलो कारण हो, आर्थिक लाभ । टर्किस क्लबहरूले खेलाडीसँग 'ट्याक्स-फ्री नेट वेज' मा सम्झौता गर्छन् ।
उदाहरणका लागि, भिक्टर ओसिमहेनले वार्षिक करिब १५ मिलियन यूरो तलब र थप ५ मिलियन यूरो इमेज राइट्सबाट पाउँछन् । टर्कीमा २० प्रतिशत मात्र कर लाग्ने हुँदा खेलाडीका हातमा युरोपका अन्य ठूला लिगको तुलनामा धेरै रकम पर्छ । त्यसैले पनि मध्यम स्तरका युरोपेली क्लबहरूलाई टर्किस क्लबले सजिलै उछिन्न सक्छन् ।
तर, फुटबलरलाई लोभ्याइरहेको पैसाले मात्र होइन । टर्कीमा खेल्ने खेलाडीहरूले यूएफा च्याम्पियन्स लिग, यूरोपा लिग र कन्फरेन्स लिगजस्ता युरोपियन प्रतियोगिताहरूमा सहभागी बन्न पाउँछन् । जबकि साउदी प्रो लिग वा एमएलएसले जति पैसा दिए पनि खेलाडीहरू युरोपियन फुटबलको 'पिरामिड' बाट बाहिरिनुपर्ने हुन्छ ।
खेलको क्वालिटी युरोपका शीर्ष पाँच लिगको तुलनामा टर्कीमा केही कम छ, जसले ३० वर्ष कटेका भेट्रान खेलाडीहरूलाई फिट रहन र लामो समय खेल्न मद्दत गर्छ । यसका साथै इस्तानबुल र ट्राबजोन जस्ता सहरहरूको जीवनशैली र त्यहाँको फुटबल संस्कृतिले पनि खेलाडीहरूलाई आकर्षित गर्छ ।
तर प्रश्न उठ्छ, टर्किस क्लबहरू किन भेट्रान स्टारहरूमै मरिहत्ते गर्छन् ? यसको पछाडि क्लबको व्यावसायिक र राजनीतिक दुवै रणनीति लुकेको छ । टर्कीका क्लबहरू सदस्यबाट चल्ने लोकतान्त्रिक संस्था हुन्, जहाँ अध्यक्षहरू छोटो कार्यकालका लागि निर्वाचित हुन्छन् ।
चुनाव जित्न र समर्थकलाई खुसी पार्न ठूला नामका खेलाडीहरू भोट तान्ने माध्यम बन्छन् । ठूला स्टार आउँदा जर्सी बिक्री, प्रायोजन र सामाजिक सञ्जालमा क्लबको पहुँच ह्वात्तै बढ्छ । जस्तै सलाहको सम्झौतामा उनले आफ्नो नामको सामान बिक्रीबाट आउने नाफाको २० प्रतिशत शेयर पाउने उल्लेख छ ।
यद्यपि, टर्कीका शीर्ष चार क्लबहरू गालातासारे, फेनर्बाचे, बेसिकटास र ट्राबजोनस्पोर अहिले करिब १ दशमलव १४ बिलियन यूरोको ऋणमा छन् । उनीहरू आफ्नो आम्दानीभन्दा बढी खर्च गरिरहेका छन् र यसका लागि क्लबका अर्बपति अध्यक्षहरू वा सरकारी बैंकहरूको सहारा लिनुपर्ने अवस्था छ । यो मोडलले गर्दा टर्कीमा आफ्नै एकेडेमीबाट खेलाडी उत्पादन गर्ने कार्य भने ओझेलमा परेको छ ।
अल्टीनोर्डु जस्ता केही खेलाडीका लागि क्लबहरूले दीर्घकालीन योजनामा काम गरे पनि अधिकांश टर्किस क्लबहरू तत्कालको नतिजाका लागि 'भेट्रान स्टार' मै निर्भर छन् । टर्किस सुपर लिगले भेट्रान खेलाडीहरूलाई एउटा सुरक्षित र आकर्षक गन्तव्य त दिएको छ, तर आर्थिक रूपमा यो कत्तिको दिगो रहला भन्ने भने चिन्ताको विषय हो । तर, अहिलेलाई भने टर्कीका मैदानहरूमा विश्व फुटबलका हस्तीहरूको जादु हेर्न पाउनु नै त्यहाँका फुटबलप्रेमीलाई सबैभन्दा ठूलो उपहार हो ।