
काठमाडौं । विश्व फुटबल महासंघ- फिफाका अध्यक्ष जियानी इन्फान्टिनोमाथि चौतर्फी दबाब बढ्दै गएको छ ।
विश्वकपसँगै आफ्ना प्रमुख प्रतियोगिताको सेयर बिक्री गर्ने विवादास्पद योजना असफल भएपछि फिफाभित्रै उनको विरोधमात्र भएको छैन, सन् २०२७ मा हुने फिफाको चुनावमा उम्मेद्वार पनि अगाडि आउन सुरु गरेका छन् । त्यसपछि उनले अहिले मोरक्कोमा फिफाका वरिष्ठ अधिकारीको आपत्कालीन बैठक बोलाएका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गत जुलाई २८ मा व्यावसायिक तथा प्रतियोगिता सञ्चालनसम्बन्धी अधिकार बिक्री गर्ने निर्णय गरेको थियो । त्यसपछि सुरु भएको विवादाको शृंखलाले अहिले धेरै देश उनलाई सहयोग गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
यसै सन्दर्भमा इन्फान्टिनोले विवाद समाधानको प्रयासस्वरूप राजधानी रबातमा कार्यकारी बैठक बोलाएका हुन् ।
आज हामी यो विवाद के हो र यसमा के के डेभलपभेन्ट भए भन्ने विषयमा चर्चा गर्नेछौं
सन् २०२७ को मार्चमा फिफाको निर्वाचन हुँदैछ । अहिलेसम्म वर्तमान अध्यक्ष एन्फान्टिनोले मात्रै आधिकारिक रुपमा अध्यक्षमा उम्मेद्वार बन्ने बताएका छन् । तर, त्यसपछि उनले जसरी विवादास्पद निर्णय गरेका छन् त्यसले फुटबल विकासको बाधकका रुपमा उनैलाई चित्रण गरेको छ । यसकारण अहिले उनको काउन्टरमा अध्यक्षमा उम्मेद्वारी दिनेको चर्चासमेत सुरु भएको छ ।
उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ कोन्काकाफका अध्यक्ष भिक्टर मोन्टाग्लियानी, युरोपेली फुटबल महासंघ यूईएफएका अध्यक्ष तथा इन्फान्टिनोका प्रमुख आलोचक अलेक्सान्डर चेफेरिन, एसियाली फुटबल महासंघ- एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खालिफा, पेरिस सेन्ट जर्मेनका अध्यक्ष नासेर अल–खेलाइफी तथा नर्वे फुटबल महासंघकी अध्यक्ष लिसे क्लाभेनेसको नाम सम्भावित दाबेदारका रूपमा चर्चामा छन् ।
यद्यपि, यीमध्ये कसैले पनि हालसम्म औपचारिक रूपमा उम्मेद्वारी घोषणा गरेका छैन । फिफाको अर्को अध्यक्ष चयन गर्ने निर्वाचन १८ मार्च २०२७ मा मोरक्कोको राबातमा हुने फिफा कांग्रेसमा हुनेछ । यता इन्फान्टिनो भने विभिन्न देशले आफूलाई समर्थन गरुन भनेर लबिङ सुरु गरेका छन् ।
उनले आफ्नो योजना समर्थन गर्ने देशलाई ४० मिलियन अमेरिकी डलर दिने घोषणासमेत गरेका छन् । तर, फुटबलको विवादले उनको टिमलाई नै एकीकृत बनाउन नसकेपछि उनी रक्षात्मक अवस्थामा पुगेका हुन् । फिफाका ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुख आर्सेन वेङ्गर, महासचिव माटियास ग्राफस्ट्रोम तथा जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अलीले एन्फान्टिनोको उक्त योजनाप्रति आफ्नो असहमति सार्वजनिक गरेका छन् ।
बुधबार राति मोरक्कोमा हुने बैठकमा महासचिव ग्राफस्ट्रोमसहित वित्त प्रमुख थोमस पेयर, कानुनी प्रमुख एमिलियो गार्सिया सिल्भेरो, प्रमुख कर्मचारी ड्यानियल ओटुल, सदस्य संघ प्रमुख एल्खान माम्मादोभ र सञ्चार निर्देशक ब्रायन स्वान्सनलगायत फिफा व्यवस्थापन बोर्डका सदस्य सहभागी हुनेछन् ।
वेङ्गरले फिफामार्फत जारी गरेको विज्ञप्तिमा उक्त योजना फिर्ता लिनु पूर्णरूपमा आवश्यक र विवादरहित निर्णय भएको बताएका छन् । उनले आफू यस योजनाको तयारीमा संलग्न नरहेको र यसको जानकारी सञ्चारमाध्यममार्फत मात्रै पाएको स्पष्ट पारे ।
आर्सनलका पूर्व व्यवस्थापक आर्सेन वेंगर, जसलाई जियानी इन्फान्टिनोले सन् २०१९ मा फिफाको ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुख नियुक्त गरेका थिए, अहिले भने इन्फान्टिनोको विवादास्पद योजनाविरुद्ध खुलेका छन् । मंगलबार जारी विज्ञप्तिमा वेंगरले उक्त योजना फिर्ता लिनु पूर्णरूपमा आवश्यक निर्णय भएको बताए ।
यसअघि पुरुष विश्वकप प्रत्येक चार वर्षको सट्टा दुई–दुई वर्षमा आयोजना गर्ने इन्फान्टिनोको प्रस्तावलाई समर्थन गरेका वेंगरले अहिले भने फिफामा पारदर्शिता र इमानदारिता हुनुपर्नेमा जोड दिएका छन् । इन्फान्टिनोले महिला र पुरुष विश्वकपको व्यावसायिक तथा आयोजनासम्बन्धी अधिकार निजी कम्पनीलाई हस्तान्तरण गर्ने प्रस्ताव अघि सारेका थिए ।
त्यसबापत फिफाका २ सय ११ सदस्य राष्ट्रलाई सन् २०२७ को सुरुआतमै एकमुस्ट २ करोड अमेरिकी डलर उपलब्ध गराउने र सन् २०२७ देखि २०३० सम्मको अवधिमा अनुदान अझ बढाउने योजना थियो । प्रस्तावित कम्पनीमा निजी लगानीकर्तालाई पनि सेयर खरिद गर्न दिने व्यवस्था राखिएको थियो । तर, तीव्र विरोधपछि योजना असफल भएसँगै इन्फान्टिनोप्रतिको समर्थन कमजोर बन्दै गएको हो ।
वेल्स, फिनल्यान्ड, स्विडेन र सर्बियाले सार्वजनिक रूपमा आफ्नो समर्थन फिर्ता लिइसकेका छन् । यस्तै, उत्तर, मध्य अमेरिका र क्यारेबियन फुटबल महासंघ कन्काकाफका अध्यक्ष भिक्टर मोन्टाग्लियानीलाई इन्फान्टिनोको सम्भावित विकल्पका रूपमा हेरिन थालिएको हो ।
यता, फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले कर्मचारीलाई पठाएको आन्तरिक इमेलमा पछिल्लो साताको घटनाक्रमलाई दुःखद र निन्दनीय भन्दै अध्यक्षको योजनाको आलोचना गरेका छन् । उनले कर्मचारीलाई विवादबाट बिचलित नहुन र विश्व फुटबल तथा फिफाका २ सय ११ सदस्य राष्ट्रको सेवामा केन्द्रित रहन आग्रह गरेका छन् ।
युरोपेली फुटबल महासंघ (यूईएफए) ले पनि सम्भावित कानुनी कारबाहीको चेतावनी दिँदै फिफालाई कागजात सुरक्षित राख्न पत्राचार गरेको छ । उक्त पत्रमा आर्सेन वेङ्गरसहित १८ जना फिफा अधिकारीको नाम उल्लेख छ । विवाद चुलिएपछि फिफाका विश्वव्यापी रणनीति तथा सुशासनसम्बन्धी वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोले राजीनामा दिएका छन् ।
उनले यो प्रस्ताव फुटबलका लागि खराब सम्झौता भएको र यसले फुटबलको भविष्य नै जोखिममा पार्ने बताएका छन् । उता, जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अलीले फिफाले सन् २०२५ को अरब कपमा उपविजेता बनेबापत पाउनुपर्ने पुरस्कार रकम अझै नदिएको आरोप लगाएका छन् ।
उनले अध्यक्ष जियानी इन्फान्टिनोलाई पुनः निर्वाचनमा समर्थन गरे मात्रै रकम उपलब्ध गराइने संकेत दिइएको दाबी गर्दै यसलाई ब्ल्याकमेल भनेका छन् । प्रिन्स अली यसअघि सन् २०१५ र २०१६ मा दुई पटक फिफा अध्यक्ष पदका उम्मेदवार बनेका थिए ।
पहिलो पटक उनी सेप ब्लाटरसँग पराजित भएका थिए भने दोस्रो पटक जियानी इन्फान्टिनो विजयी भएको निर्वाचनमा तेस्रो स्थानमा रहे । यद्यपि, यी सबै आरोपबारे फिफाको हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।