विश्वकप २०२६ सकिन नपाउँदै ६४ टोलीको बहस, अवसर कि चुनौती ?

श्रावण ६, २०८३ |सुवास रोकाया
विश्वकप २०२६ सकिन नपाउँदै ६४ टोलीको बहस, अवसर कि चुनौती ?

काठमाडौं । विश्वकप २०२६ को चर्चा सेलाउन नपाउँदै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भविष्यमा ६४ टोलीसम्म विस्तार हुन सक्ने बताएपछि विश्व फुटबलमा बहस सुरु भएको छ । 

उनले साना राष्ट्रलाई अवसर दिन यस्तो प्रस्ताव आवश्यक रहेको बताएका छन् । तर, युएफा र एएफसीले यसको खुलेर विरोध गरेका छन् । ६४ टोलीको विश्वकप भए खेल संख्या, खर्च, पूर्वाधार र समय बढी लाग्ने उनीहरुको तर्क छ । 

साथै छनोट प्रतियोगिताको महत्व घट्ने र क्लब फुटबल तथा खेलाडीको स्वास्थ्यमा असर पर्ने उनीहरुको भनाइ छ । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६, ४८ टोलीको नयाँ स्वरूपमा भर्खरै सम्पन्न भएको छ । यसैबीच फिफा अध्यक्ष जियानी इन्फान्टिनोले ६४ टोली समावेश विश्वकप आयोजना गर्ने सम्भावनाबारे संकेत गरेपछि विश्व फुटबलमा नयाँ बहस सुरु भएको छ ।

स्विस टेलिभिजनसँगको अन्तर्वार्तामा उनले विश्वकप अझ विस्तार हुनसक्ने धारणा राख्दै साना राष्ट्रलाई अवसर दिनुपर्ने तर्क अघि सारेका थिए । उनका अनुसार यदि साना देशलाई विश्वकप खेल्ने मौका नदिइए, उनीहरूको फुटबल विकासको आधार कमजोर हुन सुक्ने बताएका थिए ।

तर, यो प्रस्तावको युरोपेली फुटबल महासंघका अध्यक्ष अलेक्जान्डर सेफेरिनले खुलेर विरोध गरेका छन् । उनले विश्वकपको गुणस्तर र छनोट प्रतियोगिताको महत्व दुवै कमजोर हुने चेतावनी दिएका छन् । त्यस्तै एसियाली फुटबल महासंघका प्रमुख शेख सलमान बिन इब्राहिम अल खलिफाले पनि कहिलेसम्म टिम विस्तार गरिरहने भन्दै प्रश्न उठाएका छन् ।

६४ टोलीको विश्वकपले खेल मैदानसहित, व्यवस्थापन र अर्थतन्त्रमा पनि ठूलो प्रभाव पार्नेछ । हाल ४८ टोलीको ढाँचामा १०४ खेल खेलिए, विश्वकप ६४ टोली पुगेमा १२८ खेलसम्म पुग्ने अनुमान छ । यसले प्रतियोगिताको अवधि अझै लम्ब्याउनेछ, जसका लागि थप रंगशाला, होटल, यातायात र पूर्वाधार आवश्यक पर्नेछ ।

आर्थिक दृष्टिले हेर्दा यस्तो विस्तारले विश्वकप छनोट प्रतियोगिताको मूल्य घटाउन सक्छ । यदि ठूला राष्ट्रहरू सजिलै छनोट हुने भए, प्रसारणकर्ता र प्रायोजकहरूले छनोट खेलप्रति कम चासो देखाउन सक्छन् । यसको परिणामस्वरूप क्षेत्रीय महासंघहरू फिफामाथि अझ बढी निर्भर बन्न सक्नेछन्, जसले विश्व फुटबलमा शक्ति सन्तुलन नै परिवर्तन गर्न सक्छ ।

भविष्यका विश्वकप आयोजनामा पनि चुनौती थपिने निश्चित छ । सन् २०३० मा स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्दैछन् भने उद्घाटन खेलहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछन् । यति धेरै देशमा ६४ टोली समेट्नु झन् जटिल हुनेछ ।

त्यस्तै सन् २०३४ मा साउदी अरेबियाले एकल रूपमा विश्वकप आयोजना गर्ने तयारी गरिरहेको छ । त्यहाँ रमजानको समयसँग तालमेल मिलाउनु पर्ने भएकाले तालिका व्यवस्थापन अझै चुनौतीपूर्ण बन्नेछ ।

घरेलु लिगहरूमा पनि यसको प्रभाव पर्नेछ । अन्तर्राष्ट्रिय तालिका झन् व्यस्त हुँदा क्लब फुटबल प्रभावित हुनसक्छ । खेलाडीहरूको स्वास्थ्य र विश्रामसम्बन्धी चिन्ता पनि बढ्नेछ । अन्ततः ६४ टोलीको विश्वकपले धेरै राष्ट्रलाई अवसर दिने भए पनि प्रतियोगिताको गुणस्तर, अवधि, खर्च र आकर्षणमाथि भने प्रश्न उठेको छ । 


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।