
काठमाडौं । फुटबलको जगतमा दुईवटा यस्ता सम्मान छन्, जसलाई हासिल गर्नु हरेक खेलाडीको सपना हुन्छ।
एउटा, आफ्नो देशका लागि 'फिफा विश्वकप' जित्नु र अर्को, व्यक्तिगत रूपमा सर्वश्रेष्ठ घोषित हुँदै ब्यालोन डी'ओर हात पार्नु। रोचक कुरा के छ भने, हरेक चार वर्षमा हुने विश्वकपको प्रदर्शनले नै अक्सर त्यो वर्षको ब्यालोन डी'ओर विजेता निर्धारण गर्छ।
सन् १९५६ मा फ्रेन्च पत्रिका 'फ्रान्स फुटबल' ले सुरु गरेको यो अवार्डको इतिहास निकै लामो छ। सुरुमा यो 'युरोपियन फुटबलर अफ द इयर' को रूपमा मात्र चिनिन्थ्यो र युरोपेली खेलाडीले मात्र पाउँथे। तर सन् १९९५ पछि यसको ढोका विश्वभरका खेलाडीका लागि खुल्यो।
सन् २०२२ बाट भने यसको नियममा ठुलो परिवर्तन गरियो। अब यो अवार्ड क्यालेन्डर वर्षको सट्टा युरोपेली फुटबल सिजनको आधारमा प्रदान गरिन थाल्यो । इतिहास साक्षी छ, विश्वकपमा चम्किने स्टार खेलाडीहरू नै ब्यालोन डी'ओरको मञ्चमा पनि हाबी भएका छन्।
सन् १९६६ मा इंग्ल्यान्डलाई विश्वकप जिताएपछि बबी चार्ल्टनले यो अवार्ड पाएका थिए। त्यस्तै, १९८२ मा इटालीका पाओलो रोसीले विश्वकपको गोल्डेन बल, गोल्डेन बुट र ब्यालोन डी'ओर- तीनवटै उपाधि एकै वर्ष जितेर दुर्लभ इतिहास रचे।
सन् १९९० मा पश्चिम जर्मनीका कप्तान लोथर माथाउसले आफ्नो टोलीलाई विश्वविजेता बनाएपछि ब्यालोन डी'ओरमा आफ्नो नाम सुरक्षित गरे। १९९८ मा फ्रान्सका लेजेन्ड जिनेदिन जिदानले फाइनलमा दुई गोल गर्दै टोलीलाई च्याम्पियन बनाए र सजिलै ब्यालोन डी'ओर आफ्नो पोल्टामा पारे।
ब्राजिलका 'द फेनोमेनन' रोनाल्डोले सन् १९९८ र २००२ मा विश्वकपमा जादुमयी प्रदर्शन गरे। विशेष गरी २००२ मा चोटबाट फर्किएर फाइनलमा दुई गोल गर्दै उनले ब्राजिललाई पाँचौँ पटक विश्वकप मात्र जिताएनन्, आफ्नो दोस्रो ब्यालोन डी'ओर पनि जिते।
त्यसैगरी २००६ मा इटालीका डिफेन्डर फाबियो कानाभारोले रक्षापङ्क्तिबाट नेतृत्व गर्दै विश्वकप जिताएपछि यो सम्मान पाएका थिए। सन् २०१८ मा क्रोएसियालाई फाइनलसम्म पुर्याएका लुका मोडरिचले मेस्सी र रोनाल्डोको एक दशक लामो वर्चस्व तोड्दै ब्यालोन डी'ओर जिते। र, भर्खरै, २०२२ मा कतार विश्वकपमा अर्जेन्टिनालाई ऐतिहासिक सफलता दिलाएपछि लियोनेल मेस्सीले आठौँ पटक यो अवार्ड जितेर आफूलाई 'सर्वश्रेष्ठ' प्रमाणित गरे।
तर, ब्यालोन डी'ओरका लागि के विश्वकप जित्नै पर्छ त? सधैँ यस्तो हुँदैन। सन् २०१० मा स्पेनले विश्वकप जिते पनि ब्यालोन डी'ओर भने बार्सिलोनाबाट ६० गोल गरेका मेस्सीले नै पाए, जबकि टोलीका जाभी र इनिएस्टा विश्वकप विजेता थिए। त्यस्तै २०१४ मा पोर्चुगल विश्वकपको सुरुवाती चरणबाटै बाहिरिए पनि क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा ब्यालोन डी'ओर जितेका थिए।
तथ्याङ्क हेर्ने हो भने सन् १९९५ यता भएका सातवटा विश्वकप वर्षहरूमध्ये चार पटक मात्र विश्वकप विजेता देशका खेलाडीले ब्यालोन डी'ओर जितेका छन्। ब्यालोन डी'ओरका लागि विश्वभरका १०० उत्कृष्ट फुटबल राष्ट्रका पत्रकारहरूले भोट गर्छन्, जहाँ खेलाडीको व्यक्तिगत प्रदर्शन र टोलीको सफलता लाई मुख्य आधार मानिन्छ।
अहिले उत्तर अमेरिकामा सन् २०२६ को फिफा विश्वकपको माहोलको गर्मागर्मी छ। यसपटकको प्रदर्शनले आगामी ब्यालोन डी'ओरको दौडलाई थप रोचक बनाएको छ। फ्रान्सका कप्तान किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनेल मेस्सी ८-८ गोलसहित गोल्डेन बुटको दौडमा अगाडि छन्।
मेस्सीले ३९ वर्षको उमेरमा पनि लगातार सात खेलमा गोल गर्दै कीर्तिमान बनाएका छन्। यता इंग्ल्यान्डका जुड बेलिङ्घम र ह्यारी केनले ६-६ गोल गर्दै आफ्नो दाबेदारी बलियो बनाएका छन्। वर्तमान ब्यालोन डी'ओर विजेता ओस्मान डेम्बेलेले नर्वेविरुद्ध ह्याट्रिक गर्दै आफ्नो साख जोगाएका छन्।
नर्वे बाहिरिए पनि अर्लिङ हालान्डले ७ गोल गरेर आफ्नो व्यक्तिगत क्षमता देखाएका छन् भने १८ वर्षीय लामिन यामल युवा स्टारको रूपमा उदाएका छन्। विश्वकपको यो महाकुम्भ समापनतर्फ जाँदै गर्दा एउटा प्रश्न छ, के यसपटक पनि विश्वकपको प्रदर्शनले नै फुटबलको सर्वोच्च व्यक्तिगत सम्मान ब्यालोन डी'ओरको फैसला गर्ने छ ? वा क्लब फुटबलको प्रदर्शनले यसलाई ओझेलमा पार्ने छ ?