प्रधानमन्त्री र एडीबी अध्यक्षबीच 'वान-अन-वान' भेटवार्ता, एडीबीले बढायो नेपालमा लगानी

विकासमा प्रगति गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
असार २३, २०८३ |किरण पौडेल
प्रधानमन्त्री र एडीबी अध्यक्षबीच 'वान-अन-वान' भेटवार्ता, एडीबीले बढायो नेपालमा लगानी

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले आगामी चार वर्षभित्र नेपाललाई थप २ अर्ब ४० करोड डलर ऋण सहयोग उपलब्ध गराउने भएको छ । 

बैंकका अध्यक्ष मासातो कान्डाले काठमाडौंमा प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि नेपाललाई सहयोगसम्बन्धी घोषणा गर्नुभएको हो। नेपाल थप गतिशिल र स्थिर अर्थतन्त्र निर्माण गर्ने अवसरसहितको महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै कान्डाले एडिबीको सहयोग सन् २०२९ भित्र थप २ अर्ब ४० करोड पुग्ने अपेक्षा गरिएको बताउनुभयो । 

रोजगारी सिर्जना, बलियो व्यवसाय र नेपालको जीवनस्तर उकास्नेगरी नतिजामुखी सहयोग उपलब्ध गराउनु एडीबीको उद्देश्य रहेको उहाँको भनाइ छ । नेपाल र एडीबीले यसअघि गरेको कन्ट्री पार्टनरसिप स्ट्रयाटिजी (सीपीएस) सहमति अनुरुप यो ऋण सहयोग आउन लागेको हो । 

उक्त सहमतिमा २०२५ देखि २०२९ सम्म यस पञ्चवर्षीय योजना लागू हुने उल्लेख थियो । नेपालमा एडीबीले अहिलेसम्म विभिन्न परियोजनामा गरेर ३ अर्ब ९० करोड डलर लगानी गरिसकेको छ । भेटवार्ताका क्रममा अध्यक्ष कान्डाले प्रधानमन्त्री शाहलाई बलियो जनादेशसहित निर्वाचत भएकोमा बधाइसमेत दिनुभएको थियो । 

सरकारले अघि सारेका महत्वाकांक्षी आर्थिक रुपान्तरण, रोजगारी सिर्जना र लगानी भित्र्याउने काममा एडीबीको सहयोग रहने प्रतिबद्धता पनि उहाँले दोहोर्‍याउनुभएको छ । एडीबीले विज्ञप्ति जारी गरी सन् २०२९ सम्म गरिने नयाँ ऋण सहयोगसँगै एडीबी नेपालको सबैभन्दा ठूलो विकास साझेदार हुने र यसले प्रधानमन्त्रीको योजनालाई नतिजामा बदल्नेगरी सहयोग गर्ने जनाएको छ ।

एडीबीले विगत ६० वर्षयता सुरक्षित विद्यालय, सफा ऊर्जा, बलियो पूर्वाधार, राम्रा अवसरलगायत विभिन्न क्षेत्रमा नेपाल सरकारसँग मिलेर काम गरेको विज्ञप्तिमा उल्लेख छ । काठमाडौंस्थित विदेशी राजदूत र नेपाल भ्रमणमा आउने विदेशी उच्च अधिकारीहरूसँग एक्लाएक्लै भेटलाई अस्वीकार गर्दै आउनु भएका प्रधानमन्त्री शाहले एडीबी अध्यक्ष कान्डालाई भने एकल भेट्नुभएको हो । 

अध्यक्ष कान्दा प्रधानमन्त्री शाहसँग 'वान अन वान ' वार्ता गर्ने पहिलो विदेशी अधिकारी हुनुहुन्छ । कान्डाको भ्रमणका क्रममा एडीबीले आफ्नो वार्षिक प्रतिबद्धताअनुरुप दुईवटा ऋण सम्झौतामा पनि हस्ताक्षर गरेको छ । जसअनुसार नेपालले कुल १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण पाउनेछ ।

भरपर्दो, सुरक्षित रुपमा व्यवस्थापन गरिएको खानेपानी र सरसफाइमा ११ करोड ५० लाखको परियोजना केन्द्रित हुनेछ । यसले ८ लाख ५० हजारभन्दा धेरै मानिसहरुलाई सेवा पुर्‍याउने लक्ष्य लिएको छ । त्यस्तै, ५ करोडको नीतिगत ऋणमा आधारित योजनाले नेपालको सिमा व्यापार प्रणालीलाई आधुनिकीकरण गर्नेछ । 

यसमा डिजिटलाइजेनशन र प्रक्रियाहरुलाई सरल बनाएर व्यवसायीहरुको लागत घटाउने, कार्यक्षमता अभिवृद्धि तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने विषयहरु समावेश छन् । प्रधानमन्त्रीकी प्रेस सल्लाहकार दीपा दाहालका अनुसार प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबीच भएको आधा घण्टा लामो भेटमा प्रधानमन्त्रीले विकास, सुशासन र पारदर्शितामा आगामी दिनहरुमा नेपालले राम्रो प्रगति गर्ने बताउनुभएको थियो । 

दुई पक्षबीच हाइड्रोपावर र पर्यटनलाई प्रवर्द्धन गर्ने, पर्यटनसँग सम्बन्धित सडक पूर्वाधार निर्माण र डिजिटलाईजेसनमा सहकार्य गर्ने विषयमा पनि सकारात्मक छलफल भएको दाहालले बताउनुभयो ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।