विश्वकप अब निर्णायक मोडमा : सुरु भयो नकआउटको महासंग्राम

असार १४, २०८३ |अभय बस्नेत
विश्वकप अब निर्णायक मोडमा : सुरु भयो नकआउटको महासंग्राम

काठमाडौं । उत्तरी अमेरिकाका तीन मुलुक, १६ सहर, ४८ टोली, ७२ खेल अनि २ सय १५ गोलहरूको वर्षापछि अब विश्वकप इतिहासकै सबैभन्दा ठूलो नकआउट चरण सुरु भएको छ । ४८ टोलीबाट अबमात्र ३२ बाँकी छन् । 

२०२६ फिफा विश्वकपको नकआउट चरणमा कस्ता खेल हुँदैछन् त ?

विश्वकप २०२६ को समूह चरण रोलरकोस्टर जस्तै रह्यो। मेक्सिकोले घरेलु मैदानको भरपूर फाइदा उठाउँदै समूह 'ए' मा एक गोल पनि नखाई ९ अङ्कका साथ पहिलो स्थान कब्जा गर्‍यो । फ्रान्स र अर्जेन्टिनाले आफ्नो प्रभुत्व जमाउँदै शतप्रतिशत नतिजा निकाले । 

तर, यस पटकको सबैभन्दा ठूलो आश्चर्य केप भर्डे बन्यो, जुन विश्वकप नकआउटमा पुग्ने इतिहासकै सबैभन्दा सानो राष्ट्र बनेको छ । यद्यपि, केही दिग्गजहरूका लागि यो यात्रा निकै पीडादायी रह्यो पनि । समूह चरणबाटै उरुग्वे, टर्की, इरानजस्ता टोलीहरू बाहिरिए । 

पहिलो पटक सहभागी भएका जोर्डन र उज्बेकिस्तानका लागि पनि यो यात्रा समूह चरणमै सीमित भयो । यस विश्वकपको नयाँ संरचना अनुसार, राउन्ड अफ ३२ का १६ वटा खेल अबको ६ दिनसम्म चल्नेछन् । ब्राजिलविरुद्ध जापान, आइभरी कोस्टविरुद्ध नर्वे, फ्रान्सविरुद्ध स्विडेन, बेल्जियमविरुद्ध सेनेगल, पोर्चुगलविरुद्ध क्रोएसिया, अर्जेन्टिनाविरुद्ध केप भर्डे र नेदरल्यान्ड्सविरुद्ध मोरक्को यस विश्वकपको नकआउटमा हेर्नैपर्ने खेल मध्येका हुन् ।

अझ, पोर्चुगलविरुद्ध क्रोएसियाको खेल त २०१६ को युरो क्वार्टरफाइनलको पुनरावृत्ति मात्र होइन, बरु दुई कप्तान क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिचको विश्वकपको अन्तिम लडाइँ पनि हुन सक्छ । त्यस्तै, ब्राजिलविरुद्ध जापानको भिडन्त पनि रोमाञ्चक हुने अपेक्षा छ ।

अब नकआउट ब्र्याकेटको कुरा गर्दा, अर्जेन्टिनाको बाटो तुलनात्मक रूपमा सहज देखिन्छ। यदि केप भर्डेलाई हराए अर्जेन्टिनाको भिडन्त अस्ट्रेलिया र इजिप्टको विजेताविरुद्ध हनेछ । त्यसपछि उनीहरुले स्विट्जरल्यान्ड, अल्जेरीया, कोलोम्बिया र घानामध्ये एकको सामना गर्नेछन् । तर, अर्कोतर्फ, फ्रान्स र जर्मनीको बाटो कठिन देखिन्छ। 

यदि दुबैले आ-आफ्नो खेल जिते भने, उनीहरूको भेट सेमिफाइनलअघि नै हुन सक्छ । त्यस्तै, अर्जेन्टिना र पोर्चुगल फरक-फरक मार्गमा रहेकाले, फुटबल प्रेमीहरूले यी दुई टोली बीचको 'ड्रिम फाइनल' को सम्भावना अझै जीवितै देखेका छन् । 

सम्भावित क्वार्टरफाइनलमा ब्राजिल र नेदरल्यान्ड्सको भेट हुन सक्ने सम्भावना पनि उत्तिकै छ । यस पटकको विश्वकपमा कसैले पनि सानो आकलन गर्न नसक्ने टोली हो– केप भर्डे । उनीहरूले देखाएको रक्षात्मक र काउन्टर अट्याक फुटबलले ठूला टोलीलाई पनि समस्यामा पार्न सक्छ । 

यता नर्वे, जसमा अर्लिङ हालान्ड जस्ता गोल मेसिन छन्, उनीहरू पनि यसपटक कुनै पनि ठूलो टोलीलाई घर पठाउने क्षमता राख्छन् । यस विश्वकपमा व्यक्तिगत कीर्तिमानहरूको पनि होडबाजी उत्तिकै छ । ६ गोलका साथ शीर्ष स्थानमा रहेका मेस्सी आफ्नो अन्तिम विश्वकपमा अर्को इतिहास लेख्न चाहन्छन् भने, किलियन एम्बाप्पे र उस्मान डेम्बेले पनि फ्रान्सको आक्रमणका मुख्य आधार हुन् । 

जसले ४-४ गोल गरिसकेका छन् र प्रतियोगिता अगाडि बढ्दै जाँदा अर्जेन्टिनाका लागि मुख्य तगारो फ्रान्स नै बन्न सक्ने धेरैको आकलन छ । नर्वेका स्ट्राइकर हालान्डले २ खेलमै ४ गोल गरिसकेका छन् । उनी पनि विश्वकप नकआउटमा आइभरीकोस्ट लगायतका टोलीका लागि तगारो बन्न सक्छन् ।

यो विश्वकपको सबैभन्दा ठूलो परिवर्तन नै ३२ बाट टोली संख्या बढाएर ४८ पुर्‍याइनु र खेल सङ्ख्या ६४ बाट १०४ पुग्नु हो । पहिलो पटक राउन्ड अफ ३२ को सुरुवात भएको छ । यसले साना राष्ट्रहरूलाई विश्वमञ्चमा मौका दिएको छ । यद्यपि, धेरै खेलहरूले गर्दा खेलाडीहरूको थकान र खेलको गुणस्तरमा पर्न सक्ने प्रभावका बारेमा आलोचना पनि भइरहेका छन्।

२०२६ विश्वकपमा के नयाँ विजेता उदाउला? वा पुरानै शक्तिले आफ्नो उपाधि रक्षा गर्ला ? 


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।