
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका ३ स्थित आन्तरिक पर्यटकको आकर्षणको केन्द्र धिमीचौर पाटनमा नेपाली सेनाले ट्रस घर निर्माण गरेको छ ।
यसले पर्यटकलाई बास बस्न सहज त बनाएको छ नै जंगली जनावरहरूबाट बच्नसमेत मद्दत पुगेको छ । चन्दननाथ नगरपालिकामा रहेको पर्यटकीयस्थल धिमीचौरमा हरेक दिन एक सयभन्दा धेरै पर्यटकहरु आउँछन् । पाटनमा फुलेका फूलहरुको सुगन्ध लिनेदेखि मनोरम दृश्यहरूमा रमाउन यो समयमा पर्यटक धेरै छन् ।
व्यवस्थित बसोबासस्थल त परको कुरा वर्षायाममा ओत लाग्नेसम्मको ठाउँ नहुँदा समस्या हुने थियो । सदरमुकाम खलंगादेखि झन्डै एक घण्टाको पैदल दूरीमा पर्ने धिमीचौरमा अहिले नेपाली सेनाले ट्रस घर बनाएपछि पर्यटकलाई बास बस्न सहज भएको छ ।
वारिपटि्ट विशाल चेरेचौर, त्यही बीचमा कलकल बगिरहने घुघुत्ती खोला । घना जंगलको बीचैमा ठूलो फाँट, त्यही फाँट हो धिमिचौर । धिमीचौरको अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकमध्ये केही दिउँसो घुमफिर गरेर बेलुकी खलंगा झर्छन् त कोही राति पाल हालेर धिमीचौरमै बस्छन् ।
सेनाले ट्रस घर स्थानीय तहमार्फत ढाणथपला सामुदायिक वनलाई हस्तान्तरण गरेको हो । धार्मिक, पर्यटकीय तथा चरन क्षेत्र धिमीचौरमा विश्रामस्थलको अभाव भइरहेका बेला सेनाको यो पहलले स्थानीय, गोठाला, यात्रु र पर्यटकलाई प्रत्यक्ष राहत पुगेको छ ।
ट्रस घरमा एकैपटक एकसय जना बस्न मिल्छ । खलंगाबाट सिंजा र मुगुतर्फ जाने मार्गमा पर्ने धिमीचौरको घना जंगल र सयौँ प्रजातिका फूलले भरिएको पाटनले यो ठाउँलाई कर्णालीकै आकर्षक गन्तव्यका रूपमा स्थापित गरिरहेको छ । सेनाले निर्माण गरेको ट्रस घरले अब पर्यटकलाई विश्राम, खाना पकाउने तथा रात बिताउने सुविधा उपलब्ध गराउनेछ ।
स्थानीय गोठाला र पशुपालकले वर्षायाम सुरक्षित आश्रयका रूपमा उपयोग गर्न सक्नेछन । जाली र गेटसहित निर्माण गरिएकाले जंगली जनावरको जोखिमबाट समेत सुरक्षा हुनेछ । धिमीचौरमा विशेषगरी साउन-भदौमा फूलले ढाकिने पाटन हेर्न ठूलो संख्यामा पर्यटक पुग्ने गरेका छन् ।
चिसो हावापानी, जैविक विविधता, भेडीखर्क र गोठालाको जीवनशैलीले धिमीचौरलाई ग्रामीण पर्यटनको सम्भावनायुक्त गन्तव्य बनाएको छ । सयौं थरि फूल, दर्जनभन्दा बढी जडीबुटी, खर्सुलगायतका आधा दर्जनभन्दा धेरै प्रजातिका रुखहरू, धिमीचौरमा बस्दा लाग्छ यो बेग्लै संसार हो ।
अहिले धिमीचौरमा भैँसी गोठ भेडी खर्कहरू छन् । चौरभरि गाईभैंसी चरिरहेको दृश्यले मन लोभ्याउँछ । तर, पर्यटकीयस्थलको यति ठूलो सम्भावनालाई नगरपालिकाले चासो नदिएको आरोप स्थानीयको छ ।