विश्वकप छनोट यात्रामा नेपालको प्रदर्शन कस्तो रहँदै आएको छ त ?

जेष्ठ २५, २०८३ |सुवास रोकाया
विश्वकप छनोट यात्रामा नेपालको प्रदर्शन कस्तो रहँदै आएको छ त ?

काठमाडौं । नेपालसहित एसियाका ४६ देश फिफामा आबद्ध छन् । 

फिफा विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेमा यिनले विश्वकप खेल्न पाउँछन् । तर, नेपाल छनोट चरणमा सधैँ असफल । यसपालि पनि नेपालले विश्वकपको अवसर गुमाइसकेको छ । जबकि एसियाबाट यसपटक नौ देशले विश्वकप खेल्दै छन् । 

विश्वकप छनोट यात्रामा नेपालको प्रदर्शन कस्तो रहँदै आएको छ त ?

सन् १९७० सम्म नेपाल फिफाको सदस्य नभएकाले विश्वकप छनोटमा सहभागी हुन पाउँथेन । फिफाको सदस्य राष्ट्र भइसकेपछि पनि १९८२ को विश्वकपसम्म नेपाल छनोटमा सहभागी भएन । मेक्सिकोमा आयोजना भएको १९८६ को विश्वकपका लागि भने नेपालले एसियाली छनोट खेलेको थियो । 

यो नै नेपालको पहिलो विश्वकप छनोट हो । तर, सो छनोटमा नेपालले दक्षिण कोरियासँग दुई र मलेसियासँग एक हार बेहोरेर बाहिरियो । १९९० को इटाली विश्वकप छनोटमा पनि नेपाल समूह चरणमा चौथो हुँदै बाहिरियो । १९९४ को अमेरिका विश्वकप छनोटमा नेपाल सहभागी बनेन । 

यतिन्जेल नेपालले छनोट चरणमा जित त हात पारेको थिएन नै, गोलसमेत शून्य थियो । १९९८ को फ्रान्स विश्वकपको छनोटमा भने नेपालले पहिलोपटक गोल गर्‍यो । गोल गर्ने खेलाडी थिए हरि खड्का । खड्का अहिले एन्फाका टेक्निकल डिरेक्टर छन् ।

सन् २००२ को विश्वकप छनोटमा भने नेपालले चामत्कारिक नतिजा हात पार्‍यो । विश्वकपमा छनोट हुन असफल भए पनि २ खेल जित्दै समूहमा नेपाल तेस्रो भयो । मकाउविरुद्धको ६-१ को नतिजा छनोट चरणमा नेपालको अहिलेसम्मकै फराकिलो जित हो ।

सन् २००६ को जर्मनी विश्वकपको छनोटमा भने नेपालले आफ्नो नाम फिर्ता लिएको थियो । त्यसपछिका छनोट प्रतियोगितामा नेपाल लगातार सहभागी छ । २०१० को दक्षिण अफ्रिका विश्वकप छनोटको पहिलो चरणमा नेपाल दुई हार बेहोरेर बाहिरिँदा २०१४ को ब्राजिल विश्वकप छनोटमा भने टिमोर लिस्टेलाई समग्रमा ७–१ ले हराएर नेपाल दोस्रो चरणसम्म पुग्न सफल भएको थियो । 

दोस्रो चरणमा भने जोर्डनसँग दुई लेगमा गरी १०–१ को लज्जास्पद हारसँगै नेपाल बाहिरियो । यो छनोटमा नेपालका लागि भरत खवासले एक मात्रै गोल गरेका थिए । रुसमा सन् २०१८ मा आयोजना भएको फिफा विश्वकपको छनोटमा पनि नेपाल पहिलो चरणबाटै बाहिरियो । 

भारतसँग दुई लेगमा २-० ले पराजित भएपछि नेपाल दोस्रो चरणमा समेत पुग्न असफल भयो । सन् २०२२ मा कतार विश्वकपको छनोटमा भने पहिलो चरणमा बाई पाएर नेपाल सीधै दोस्रो चरण प्रवेश गरेको थियो । तर, दोस्रो चरणको समूह ‘बी’मा पाँचमध्ये नेपाल चौथो स्थानमा रहेर बाहिरियो । 

यस प्रतियोगितामा नेपालले चाइनिज ताइपेईलाई उसकै मैदानमा २–० ले हराएको थियो । विश्वकप छनोटमा नेपालले विपक्षी टोलीलाई उसकै मैदानमा हराएको पहिलोपटक थियो । यसपटक उत्तर अमेरिकामा हुन गइरहेको विश्वकपको छनोटमा पनि नेपाल दोस्रो चरणबाटै बाहिरिइसकेको छ । 

पहिलो चरणमा लाओसलाई २–१ ले हराएको नेपालले दोस्रो चरणका कुनै पनि खेल जित्न सकेन । नेपाल फिफा वरीयतामा १ सय ७७ औँ स्थानमा छ । एसियामा नेपाल ३६औँ स्थानमा छ । वरीयतामा पछाडि रहेकै कारण सन् २००६ यताको विश्वकप छनोटमा नेपालले पहिलो चरणबाटै प्रतिस्पर्धा गर्नुपर्छ । 

जसले छनोट यात्रा सधैँ कठिन बनाउँछ । कहिले काँही त एक खेलबाटै बाहिरिनु पर्ने अवस्था आउँछ। अर्कोतर्फ घरेलु फुटबल संरचना कमजोर हुनु, लिग नै नहुनु, खेलाडीले ठूलो लिगमा अवसर नपाउनु, ग्रासरुट फुटबलमा ध्यान दिन नसक्नु, फुटबलको दीर्घकालीन योजना नहुनु र रणनीतिक रूपमा सफल प्रशिक्षक नपाउनुजस्ता कारण नेपालको विश्वकप सपना सधैँ यथार्थभन्दा टाढा रहँदै आएको छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।