शक्ति गौचनकी छोरी कस्तुरको उदय, महिला क्रिकेटकी नयाँ आशा

जेष्ठ २४, २०८३ |देव राना
शक्ति गौचनकी छोरी कस्तुरको उदय, महिला क्रिकेटकी नयाँ आशा

सुर्खेत । नेपाली क्रिकेट फ्यानमाझ परिचित नाम हो शक्ति गौचन । 

आठ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि हिजोआज उनले आफूलाई प्रशिक्षक र क्रिकेट प्रशासकका रुपमा स्थापित गरेका छन् । लाइमलाइटभन्दा पर्दापछि विस्तारै काम गरिरहेका उनको नाम शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा जारी यु-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा एकाएक चर्चामा आयो । 

कारण, शक्ति जस्तै प्रतिभावना र महिला क्रिकेटमा नयाा आशा जगाउने गरी कस्तुर गौचनको प्रदर्शन । कस्तुर शक्तिकी छोरी हुन् । सुर्खेतमा जारी यू-१९ महिला प्रतियोगिता चलिरहँदा दर्शकको ध्यान खिच्ने मध्ये एउटा खेलाडी हुन् कस्तुर गौचन । 

एउटा कारण, उनी पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनकी छोरी हुन् भने अर्काे प्रतिभावान र सम्भावना बोकेको खेलाडी । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागी उनी सानै उमेरदेखि नै क्रिकेट खेल्न थालेकी हुन् ।

क्रिकेटको यात्रा भखैरै सुरु गरेकी कस्तुरमा बुबाकै छाया देखिन्छ । ब्याट समाउने शैली होस् वा सट खेल्ने तरिका । उनका क्रिकेट हाउभाव र कौशलता बुबासँग मिल्दोजुल्दो छ । कुनै समय बुबाले क्रिकेट खेल्दै गरेको टेलिभिजनका पर्दामा हेर्ने उनी बुबाकै प्रेरणाका कारण क्रिकेट खेल्न थालेको बताउँछिन् ।

रुपन्देहीको होराइजन गौतम बुद्ध इङलिस बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्दै गरीकी कस्तुरका लागि खेल र पढाइ उत्तिकै महत्वपूर्ण हो । खेल र पढाइलाई सँगसँगै अगाडि बढाएकी प्रतियोगितामा सहभागी हुदा छुटेको पढाइ पूरा गर्न साथीभाइको सहयोगले पूरा गर्दै आएकी छिन् । 

जिल्लादेखि प्रदेश छनोटसम्मका खेललाई नजिकबाट नियालेका प्रशिक्षकले पनि कस्तुरमा कुशल संभावना बोकेको र खेलाडीमा हुने सबै गुणहरु देख्छन् । यू-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आफैंले नयाँ खेलाडी जन्माउने एउटा बलियो थलो हो । त्यसकारण कस्तुर मात्र होइन, यो प्रतियोगिताबाट धेरै प्रतिभावान र सम्भावना बोकेको महिला क्रिकेटर जन्माउने अपेक्षा छ ।


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।