
काठमाडौं । फिफा विश्वकप २०२६ सहभागी टोलीको संख्याले मात्र होइन, आर्थिक उपार्जनको आलोकमा पनि अहिलेसम्मकै ठूलो बन्दै छ ।
फिफा अध्यक्षले त अभूतपूर्व आर्थिक योगदान दिने ऐतिहासिक क्षणसमेत भनेका छन् । यसपालि विश्वकपमा विजेताले पाउने राशि इतिहासकै उच्च हुँदै छ भने फिफाले कमाउने पैसा झन्डै दोब्बरको बढ्ने अनुमान छ । चर्चा गरौँ, फिफा विश्वकप २०२६ को पुरस्कार रकम र अनुमानित आयव्यय विवरणबारे ।
कतारमा सम्पन्न अघिल्लो संस्करणको फिफा विश्वकपको कुल पुरस्कार रकम ४ सय ४० मिलियन अमेरिकी डलर थियो । जुन त्यतिबेलासम्मकै सर्वाधिक थियो । तर, फिफा विश्वकप २०२६ मा पुरस्कार रकम ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
२०२५ डिसेम्बर ५ मा वासिङ्टन डीसीमा सम्पन्न फिफा कंग्रेसले २०२६ का लागि ७ सय २७ मिलियन अमेरिकी डलरको पुरस्कार रकम घोषणा गरेको थियो । यसमध्ये ६ सय ५५ मिलियन अमेरिकी डलर प्रत्यक्ष रूपमा सहभागी सदस्य संघहरूबीच वितरण गरिनेछ ।
बाँकी रकम तयारी खर्च, संरचनागत सहयोग तथा अन्य विकास कार्यक्रमहरूमा उपयोग हुनेछ । विश्वकप जित्ने टोलीले ५० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ । यो अहिलेसम्मकै ठूलो पुरस्कार राशि हो । उपविजेताले ३३ मिलियन अमेरिकी डलर पाउनेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीले २९ मिलियन अमेरिकी डलर र चौथो स्थानले २७ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ ।
त्यसैगरी क्वार्टरफाइनल पुगेका टोलीहरूलाई १९ मिलियन अमेरिकी डलर, अन्तिम १६ सम्म पुग्ने टोलीलाई १५ मिलियन अमेरिकी डलर र अन्तिम ३२ मा पुगेका टिमलाई ११ मिलियन अमेरिकी डलर प्रदान गरिनेछ । समूह चरणमै रोकिएका टोलीहरूका लागि समेत ९ मिलियन अमेरिकी डलर छुट्याइएको छ ।
यसका अतिरिक्त सहभागी राष्ट्रलाई तयारी खर्चबापत १ दशमलव ५ मिलियन अमेरिकी डलर दिइनेछ । अर्थात् सहभागी टोलीले कम्तीमा १० दशमलव ५ मिलियन अमेरिकी डलर निश्चित पाउँदै छ । यो रकम फिफाले सम्बन्धित राष्ट्रिय फुटबल संघहरूलाई प्रदान गर्छ ।
संघहरूले आफ्नो आन्तरिक नीतिअनुसार खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बोनस र पुरस्कार वितरण गर्छन् । अर्थात् एउटै चरणसम्म पुगेका खेलाडीहरूले आफ्नो देशको नीतिअनुसार फरक फरक आर्थिक लाभ प्राप्त गर्न सक्छन् ।
विश्वकप २०२६ मा पुरस्कार मात्र वृद्धि भएको छैन । टोली ३२ बाट ४८ मा विस्तार भएको छ । खेल संख्या ६४ बाट बढेर १०४ पुगेको छ । जसले प्रसारण अधिकार, विज्ञापन र प्रायोजनको बजारसहित टिकट बिक्री अझ व्यापक बनेको छ । उत्तर अमेरिकामा आयोजना हुने भएकाले यो संस्करणलाई फिफाले ऐतिहासिक व्यावसायिक अवसरका रूपमा लिएको छ ।
अमेरिकामा आधारित संस्था एस एन्ड पी ग्लोबल मार्केट इन्टेलिजेन्सको अध्ययनअनुसार २०२६ फिफा विश्वकपले अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक आम्दानी गर्ने अपेक्षा छ । फिफाले करिब ९ बिलियन अमेरिकी डलर आम्दानी गर्ने उक्त अध्ययनको अनुमान गरिएको छ ।
यसको सबैभन्दा ठूलो हिस्सा ३ दशमलव ९ बिलियन डलर प्रसारण अधिकारबाट आउनेछ । बाँकी आम्दानी मार्केटिङ अधिकार, प्ररायोजक, टिकट बिक्री र हस्पिटालिटी भीआईपी सेवाबाट आउनेछ । प्रतियोगिता अमेरिका, क्यानडा र मेक्सिकोका १६ सहरमा खेल आयोजना हुँदै छ ।
यति मात्र होइन, २०२३ देखि २०२६ सम्मको आर्थिक चक्रमा फिफाको कुल आम्दानी करिब १३ बिलियन डलर पुग्ने अनुमान छ । जुन २०१९-२०२२ को अघिल्लो चक्रभन्दा ६ दशमलव ५ बिलियन डलरभन्दा दोब्बर हो । विशेषज्ञहरूले विश्वकपको दर्शक संख्या पनि ऐतिहासिक रूपमा उच्च हुने अनुमान गरेका छन् ।
टीभी, स्ट्रिमिङ र डिजिटल प्लेटर्फमहरूसमेत गरेर इङ्गेजमेन्ट करिब ६ बिलियन पुग्ने अपेक्षा छ । स्टेडियममा मात्रै ५० लाखभन्दा बढी दर्शक उपस्थित हुने अनुमान छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले समेत यो संस्करणलाई खेलको विस्तार मात्र नभई विश्व फुटबल समुदायमा अभूतपूर्व आर्थिक योगदान दिने ऐतिहासिक क्षणका रूपमा व्याख्या गरेका छन् ।