नेपाल एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश

जेष्ठ २१, २०८३ |कान्तिपुर टीभी संवाददाता
नेपाल एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश

काठमाडौं । ओपनर कुशल भुर्तेलले कीर्तिमानी प्रर्दशन गरेपछि मलेसियालाई पराजित गर्दै नेपाल समूह विजेता रुपमा एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह एबाट यसअघिनै एसियाली खेलकुदमा स्थान बनाइसकेको नेपालले आज मलेसियालाई १ सय ६७ रनको विशाल अन्तरले पराजित गरेको हो । पराजित मलेसियाले समुह उपविजेताको रुपमा अन्तिम चारमा स्थान बनायो । समूह चरणको आफ्नो पहिलो खेलमा चीनलाई पराजित गरेका नेपाल र मलेसियाले यसअघि नै एसियाली खेलकुदमा स्थान पक्का गरेका थिए ।

सिंगापुर नेशनल क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७५ रनको विशाल योगफल तयार पारेको थियो । कीर्तिमानी प्रर्दशन गरेका कुशल भुर्तेलले मलेसियाविरुद्ध शतक प्रहार गर्दै टी-२० आई मा नेपालका लागि लगातार दोस्रो शतक प्रहार गर्ने पहिलो खेलाडी बने । टी-२० आई मा ३ र ओडीआईमा २ शतक बनाएका कुशलको नाममा ५ अन्तर्राष्ट्रिय शतक छ । उनी नेपालका लागी अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा बढी शतक बनाउने खेलाडी समेत हुन् । ४४ बलमा शतक पूरा गरेका कुशलले १ सय २६ रनको योगदान दिए । ५४ बलमा १४ चौका र ८ छक्का प्रहार गरेका कुशल टी-२० आईमा १ सय छक्का प्रहार गर्ने नेपालको पहिलो ब्याटर बने । ७८ टी-२० आई खेलको ७६ इनिङ्समा २ हजार २ सय ४० रन बनाएका कुशल टी-२० आईमा पनि नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले कप्तान दिपेन्द्रसिंह ऐरीलाई पछि पारेका हुन् । आशिफ शेखले ६८ रन जोडे । कुशल र आशिफबीच पहिलो विकेटका लागि १ सय ३४ रनको साझेदारी भएको थियो । जुन नेपालका लागि हालसम्मकै उच्च ओपनिङ साझेदारी हो भने समग्रमा चौथो ठूलो साझेदारी हो ।

कप्तान दीपेन्द्रले ११ बलमा १ चौका र ४ छक्का सहयोगमा ३१ रनको आक्रमक क्यामियो खेले । मलेसियाका लागि विरनदिप सिंहले ३ विकेट लिए ।

२ सय ७६ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रन मात्र बनाउन सक्यो । कप्तान सयाद अजिजले सर्वाधिक ५४ रन बनाए । मलेसियालाई रोक्न शेर मल्लले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको नाममा समान १-१ विकेट रहयो ।

अब नेपालले आइतबार फाइनल प्रवेशका लागि आइतबार समूह बीको उपविजेतासँग प्रतिस्पर्धा गर्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.