चोकर्सबाट च्याम्पियन : कसरी बदलियो आरसीबी ?

जेष्ठ १८, २०८३ |खेल ब्युरो
चोकर्सबाट च्याम्पियन : कसरी बदलियो आरसीबी ?

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरु लगातार दोस्रो सिजन आईपीएलको च्याम्पियन बनेको छ । 

गुजरात टाइटन्सलाई पाँच विकेटले हराएर विराट कोहलीको टिम विश्व क्रिकेटको सबैभन्दा महँगो फ्रेन्चाइज लिगमा दोहोरिएर च्याम्पियन बनेको छ । योसँगै आरसीबीले २० करोड भारतीय रुपैयाँ हात पारेको छ । यो उपाधि केवल एक जित मात्रै होइन, एउटा टिमले आफूलाई गरेको बदलाबको नतिजासमेत हो । अबको चर्चा आरसीबीको यही यात्राबारे ।

पहिलो सिजन जित्दा रमाइलो लाग्यो अनि हामीले दोस्रो सिजन पनि जित्यौँ- इन्डियन प्रिमियर लिग आईपीएलमा लगातार दोस्रो उपाधि जितेपछि रोयल च्यालेन्जर्स बैंगलुरुले सामाजिक सञ्जालमा गरेको पोस्ट हो यो । आईपीएलमा लामो समय चोकर्स भनेर चिनिएको आरसीबी आखिर कसरी दोहोरिएर विजेता बन्यो त ? आरसीबीमा आएको परिवर्तन के हो ?

आरसीबीका प्रमुख खेलाडी विराट कोहलीसँग यसको थोरबहुत जवाफ छ । उनी भन्छन्- सामूहिकताको भावना अनि आफैँले मात्रै प्रदर्शन गर्नुपर्छ भन्ने दबाब । यही दुई कुराले लगातार जित निस्किएको उनको दाबी छ ।

त्यसो त आरसीबीमा स्टार खेलाडीको खडेरी कहिल्यै भएन । एक समय कोहलीसँगै क्रिस गेल र एबी डिभिलियर्स जस्ता भेटरान खेलाडी टिममा थिए । यी तीनकै कारण आरसीबी धेरै समर्थकको प्यारो पनि बन्यो । तर, १७ वर्षसम्म यी तीनभन्दा माथि उठेर टिमको परिचय बन्न सकेन ।

तर, सन् २०२५ को मेगा अक्सनबाट आरसीबीले आफ्नो टिममा परिवर्तन गर्‍यो । उसले स्टार होइन उत्कृष्ट टिम बन्न सक्ने खेलाडीको खोजी गर्‍यो । आफ्नो कमजोरी सुधारको प्रयास गर्‍यो । र, यो भूमिकामा काम गरे इन्डी फ्लावरले। उनी जति उत्कृष्ट खेलाडी रहे उति नै सफल खेल प्रशासक बनिरहेका छन् ।

आरसीबीले अक्सनअघि कोहलीसँगै रजत पतिदार र यश दायल मात्रै रिटेन गरेको थियो । अक्सनमा एन्डीले ब्याटर मात्रै नभएर उत्कृष्ट अलराउन्डर छनोट गरे । फिल साल्ट, जितेश शर्मा, देवदत्त पडिक्कल, टिम डेविड, क्रुणाल पण्ड्याजस्ता खेलाडीले टिमलाई ब्याटिङ गहिराइसँगै शान्त तर शक्तिशाली बनायो ।

अहिले सर्वाधिक विकेट लिने खेलाडी बनेका भुवनेश्वर कुमारसँगै रसिख सलाम र जोश हेजलवुडमाथि दाउ लगाउने निर्णय आरसीबीको सबैभन्दा ठूलो गेमचेन्जर बन्यो । अक्सनपछि उसले सन् २०२५ मा टिमलाई बलियो बनाउने कोसिस गर्यो ।

टिमका लियाम लिविनस्टोम र लिंगी एनगेडीलाई रिलिज गरेर वेङकटेस अयर र ज्याकोब डफीलाई अनुबन्ध गर्ने निर्णय फाप्यो । यो सिजनमा वेङ्कटेस अयरले ६ इनिङ्समा २ सय ९ रन बनाए भने ज्याकोब डफीले नौ विकेट लिएका छन् ।

यता कोहली निर्विकल्प नायक भइहाले । हुन त सिजन २०२५ को पूर्वसंध्यामा कोहलीलाई हटाएर रजत पतिदारलाई कप्तान बनाउँदा क्रिकेट जगत् अचम्मित नभएको होइन । तर, लगातार दुई सिजन उपाधि जिताएर उनले आफूलाई स्थापित गराए ।

गत सिजन उनले १५ खेलमा तीन सय १२ रन बनाएका थिए । यो सिजनमा त उनले १५ खेलमा ५ सय १ रन जोडेका छन् । सबैभन्दा सुन्दर पक्ष त खेलमा जति तनाव रहे पनि मैदानमा उनी सधैँ शान्त देखिए । टिममेटको क्षमता पहिचान गर्न सक्ने पतिदारको खुबी पनि धेरैलाई सराहनीय लाग्छ ।

यता गत सिजन ६ सय ५७ रन बनाएका कोहलीले यो सिजनमा ६ सय ७५ रन जोडे । गए रातिको फाइनलमै गुजरातका समर्थकलाई स्तब्ध बनाउने क्रममा ७५ रनको अविजित इनिङ्स खेले, कोहलीले । उनको नौ छक्का र तीन चौका टिमलाई लक्ष्य चेज गर्ने क्रममा ठूलो सहयोगी बन्यो ।

आरसीबीमा आएको सबैभन्दा ठूलो परिवर्तन चाहिँ तीव्र गतिका बलको प्रदर्शन हो । टिमलाई च्याम्पियन बन्ने बाटो पनि तीव्र गतिका बलरले नै देखाएका हुन् । गत सिजन १७ विकेट लिएका भुवनेश्वर कुमारले यो सिजन २८ विकेट आफ्ना नाममा गरे ।

उनले सिजनभरि ३ सय ७८ त डट बल मात्रै फाले । उनलाई रसिख सलाम र हेजलबुडको बलियो साथ रहँदा टिमले बलिङ डिपार्टमेन्टलाई शतप्रतिशत भरोसा गरेको थियो । यसैकारण त आरसीबीले पहिले ब्याटिङ गर्दा फराकिलो रन अन्तरले जित हात पारेको थियो ।