
काठमाडौं । विश्व फुटबलमा धेरै खेलाडी आए, गए ।
तर, फुटबलमा जर्सी नम्बर १० लगाउने खेलाडी भने सधैँजसो समर्थकको नजरमा परे परे । १० नम्बर जर्सी कुनै अंक मात्र होइन, यो लिगेसी हो अनि उत्कृष्टताको मानक पनि । तर, १० नम्बर जर्सीको कथा कसरी सुरु भयो ?
अनि क कसले यसलाई मानक बनाउन योगदान दिए ?
पेले, म्याराडोना, जिदान र मेस्सी । यी सर्वकालीन महान फुटबलरहरूबीच एउटा रोचक समानता छ । त्यो हो- यी चारै जनाले जर्सी नम्बर १० पहिरिएर विश्वकप ट्रफी उचालेका छन् । तर, यो जर्सीको कथा कुनै संयोगको विषय मात्र होइन । फुटबलमा जर्सी नम्बर १० का लागि ठूला बहस, विवाद हुने गरेका छन् ।
कहिलेकाहीँ त १० नम्बर पहिरिएर कसले खेल्दैछ भन्ने आफैँमा ठूलो समाचारको विषय पनि हुने गरेको छ । लियोनल मेस्सी बार्सिलोनाबाट पीएसजी सर्दा पनि यो जर्सी नेयमारले लगाउने कि मेस्सीलाई हस्तान्तरण गर्ने भन्ने विषय प्रमुख बनेको थियो ।
आखिर जर्सी नम्बर १० मा त्यस्तो के छ ? किन मरिहत्ते गर्छन् फुटबलर ?
फुटबलमा पहिले खेलाडीको कुनै निश्चित नम्बर हुँदैनथ्यो । सन् १९५४ को विश्वकपदेखि मात्रै नम्बरको प्रणाली सुरु भयो । लगत्तै अर्को संस्करण १९५८ को विश्वकपबाट भने एउटा प्रक्रियागत त्रुटिका कारण जर्सी नम्बर १० को लिगेसी सुरु हुन्छ । त्यति बेला ब्राजिलियन फुटबल महासंघले खेलाडीको सूची बुझाउन बिर्सिएपछि फिफाका एक उरुग्वेली प्रतिनिधिले जथाभाबी नम्बर वितरण गरिदिए ।
टोलीका १७ वर्षीय खेलाडीको भागमा नम्बर १० पर्न गयो । ती खेलाडी थिए- पेले । पेलेले सोही विश्वकपमा वेल्सविरुद्ध १७ वर्ष २ सय ३९ दिनको उमेरमा गोल गर्दै विश्वकप इतिहासकै कान्छो गोलकर्ताको कीर्तिमान रच्दै अन्ततः ब्राजिललाई पहिलोपटक विश्वविजेता बनाए ।
यदि त्यो दिन फिफाका ती अधिकारीले पेलेलाई अर्कै नम्बर दिएका भए, सायद आज जर्सी नम्बर १० को कथा अर्कै हुने थियो । पेलेपछि अर्जेन्टिनाका डिएगो म्याराडोनाले सन् १९८६ मा १० नम्बरलाई एउटा विद्रोह को प्रतीक बनाए । १० नम्बर जर्सी पहिरिएरै उनले १९८६ को विश्वकपमा ‘ह्यान्ड अफ गड’ र ‘गोल अफ दि सेन्चुरी’ जस्ता आइकनिक क्षण फुटबल प्रेमीहरूलाई दिएका थिए ।
अर्जेन्टिनामा १० नम्बर लगाउने खेलाडीलाई ‘एन्गान्चे’ भनिन्छ, जसको अर्थ अंकुश लगाउनु हो । यस्तो अंकुश जसले मिडफिल्ड र अट्याकलाई जोड्ने काम गर्छ । यता, इटालीमा यो नम्बरलाई ‘फान्टासिया’ भनिन्छ । अर्थात् मैदानमा स्वतन्त्र र सिर्जनात्मक खेल खेल्ने खेलाडी ।
अर्थात् कालान्तरमा पेले र म्याराडोना जस्ता महान् खेलाडीबाट प्रमाणित उत्कृष्टताको मानक बन्न पुगेको देखिन्छ, जर्सी नम्बर १०। यता फ्रान्सका लागि जिनेदिन जिदानले नम्बर १० पहिरिएर मैदानमा जादू नै देखाए । विशेष गरी २००६ को विश्वकपमा ब्राजिलविरुद्ध उनको प्रदर्शनलाई फुटबलको मास्टरक्लास भनिन्छ ।
पछिल्लो दशक अर्जेन्टिनी सुपरस्टार लियोन मेस्सीले जर्सी नम्बर १० लाई अर्को मानक दिएका छन् । उनले यही नम्बर पहिरिएर च्याम्पियन्स लिग जितेका छन्, कोपा अमेरिका जितेका छन् । अनि विश्वकप पनि । सर्वाधिक बालन डोर, युरोपमा सर्वाधिक गोल्डेन बुटजस्ता कैयौँ उपाधिको साक्षी यही जर्सी बनेको छ ।
अब मेस्सी ६ वटा विश्वकप खेल्ने इतिहासकै पहिलो खेलाडी पनि बन्दै छन् । र, सम्भवतः यो उनको अन्तिम विश्वकप पनि हुनसक्छ । यो त भयो लिगेसीको कुरा । विश्व फुटबलका उदीयमान खेलाडीहरू अहिले १० नम्बरकै लागि संघर्षरत छन् । स्पेनमा लमिन यमाल, ब्राजिलमा भिनिसियस जुनियर, जर्मनीमा जमाल मुसियाला अनि फ्रान्समा किलियन एम्बाप्पे ।
यी उदीयमान खेलाडीले आफ्नो करिअरका लागि जर्सी नम्बर १० नै रोजेका छन् । हालै मात्र आउँदो विश्वकपका लागि ब्राजिलको पाँचतारे जर्सी नम्बर १० कसले लगाउने भन्ने विवाद सतहमै आयो । नेयमारको अनुपस्थितिमा भिनिसियसले लगाउँदै आएको १० नम्बर लामो छलफलपछि अब नेयमारलाई नै सुम्पिने सहमति भएको छ ।
यस पटक नेयमार ४ वटा विश्वकपमा १० नम्बर लगाउने पहिलो ब्राजिलियन बन्दै पेलेको कीर्तिमान तोड्ने दाउमा छन् । यो विश्वकपको एउटा रोचक पक्ष के पनि छ भने, जर्सी नम्बर १० को पुस्तान्तरण हुँदै छ । मेस्सीले यो विश्वकपलाई अन्तिम बनाए भने अर्जेन्टिनामा जर्सी नम्बर १० का लागि नयाँ उत्तराधिकारी खोज्नुपर्ने हुन्छ ।
मेस्सीको अनुपस्थितिमा पछिल्लो समय थियागो अलमाडा र फ्राङको मास्टान्टुनोले १० नम्बरको प्रयोग गर्दै आएका छन् । यता ब्राजिलमै पनि नेयमारले अन्तिम विश्वकप खेल्ने चर्चा छ । ब्राजिलमा १० नम्बर जर्सीको उत्तराधिकारी भिनिसीयस जुनियर बन्ने निश्चितप्रायः छ ।
सन् २०१८ मा क्रोएसियालाई फाइनलमा पुर्याएका लुका मोड्रिचले पनि यसपटक १० नम्बर जर्सीका साथ आफ्नो अन्तिम विश्वकप खेल्दैछन् । उनको उत्तराधिकारी को बन्छ भन्ने पनि चासोकै विषय छ ।