गोविन्द बोहरालाई १०औँ एड्सन च्यारिटी गल्फको उपाधि

४३ स्टेबलफोर्ड अंकसहित सानदार प्रदर्शन
जेष्ठ ९, २०८३ |खेल ब्युरो
गोविन्द बोहरालाई १०औँ एड्सन च्यारिटी गल्फको उपाधि

काठमाडौं । काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा शनिबार सम्पन्न १०औँ एड्सन च्यारिटी गल्फ प्रतियोगिताको उपाधि गोविन्द बोहराले जितेका छन् । 

१८ ह्यान्डीक्यापमा खेलेका बोहराले ४३ स्टेबलफोर्ड अंक जोड्दै सानदार जित दर्ता गरेका हुन् । जित हात पार्दा बोहराले उपविजेता इन्द्र धारा विष्टलाई दुई अंकले पछि पारे । विष्ट र नवाङ पासाङ शेर्पाको समान ४१ अंक भए पनि ब्याक नाइनको स्कोरका आधारमा विष्ट उपविजेता घोषित भए । 

मुख्य विजेता बोहराले पुरस्कारस्वरूप सिंगापुर एयरलाइन्सको तर्फबाट काठमाडौं-सिंगापुर-काठमाडौंको हवाई टिकट प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा तेन्जिङ छिरिङले 'बेस्ट ग्रस' र 'लंगेस्ट ड्राइभ' अवार्ड जिते । महिलातर्फ ३६ अंकका साथ विपना श्रेष्ठ विजयी भइन् भने आस्था दुलाल ३४ अंकसहित उपविजेता बनिन् । 

आस्थाले लक्की ड्र मार्फत सिंगापुरको हवाई टिकट समेत हात पारिन् । त्यस्तै, ६० वर्ष माथिको सिनियर विधामा संजीव क्षेत्री र ७० वर्ष माथिको सुपर सिनियर विधामा डा. फौदा राज थेबे विजयी भए । अन्य विधामा प्रदीप केसीले 'क्लोजेस्ट टु द पिन', अन्जिला योन्जनले 'स्ट्रेटेस्ट ड्राइभ' र रविन्द्र तिवारीले सर्वाधिक चारवटा 'बर्डिज' को अवार्ड जिते ।

एबिलिटी डेभलपमेन्ट सोसाइटी अफ नेपाल (एड्सन) द्वारा आयोजित यस च्यारिटी प्रतियोगितामा ७१ जना गल्फरहरूको सहभागिता रहेको थियो । विजेताहरूलाई एड्सनका अध्यक्ष रबेन्द्र राज पाण्डे, नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्की लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । समाज सेवा र गल्फ खेलको प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो ।