
काठमाडौं । फिफा विश्वकप २०२६ को महाकुम्भ सुरु हुन अब धेरै समय बाँकी छैन । त्यसै क्रममा जर्मन प्रशिक्षक जुलियन नागेल्सम्यानले बिहीबार विश्वकपका लागि अन्तिम टोली घोषणा गरे ।
विश्व फुटबलको पावरहाउस मानिने जर्मनी यसपटक नयाँ ऊर्जा र रणनीतिका साथ मैदानमा उत्रिँदैछ । आजको विश्वकप विशेषमा पछिल्ला केही विश्वकपमा निराशाजनक प्रदर्शन गरेको र यसपटक आफ्नो गौरव फर्काउने लक्ष्यमा रहेको 'डाई म्यानसाफ्ट' को चर्चा ।
सन् २०१४ जुलाई ८, ब्राजिल विश्वकपको सेमिफाइनल– ब्राजिलको माराकाना रंगशालामा जर्मनीले पाँच पटकको विश्व विजेता र त्यस प्रतियोगितामा कुनै पनि खेल नहारी सेमिफाइनल प्रवेश गरेको ब्राजिलको सामना गर्दैथ्यो । खेल सुरु हुनु अगाडि कसैले पनि खेलको जुन नतिजा आउँदैथियो त्यसको अनुमान गर्न सक्दैनथ्यो होला ।
आयोजक ब्राजिललाई ७-१ को विशाल अन्तरले पराजित गर्दै जर्मनी फाइनल प्रवेश गर्यो र अन्तत लियो मेसीको अर्जेन्टिनालाई हराउँदै आफ्नो जर्सीमा चौथो तारा थप्यो । त्यस्तै सन् १९७० को 'गेम अफ द सेन्चुरी' र सन् १९८२ को 'नाइट अफ सेभिल' को रोमाञ्चक भीडन्त—जर्मनीले सधैं विश्वकपमा अविष्मरणीय खेल पस्किएको छ ।
जर्मनीको विश्वकप इतिहास निकै गौरवपूर्ण छ । उसले अहिलेसम्म चार पटक विश्वकपको उपाधि जितिसकेको छ । यो टोलीले अहिलेसम्म १२ पटक शीर्ष तीनमा स्थान बनाउने कीर्तिमान कायम गरेको छ, जुन अन्य कुनै पनि राष्ट्रको तुलनामा सबैभन्दा बढी हो ।
सन् १९५४ को 'मिराकल अफ बर्न' जर्मनीको विश्वकप यात्राकै सबैभन्दा उत्कृष्ट सफलता मानिन्छ, जहाँ हंगेरीलाई हराउँदै टोलीले पहिलो उपाधि उचालेको थियो । यद्यपि, पछिल्लो समय जर्मनीले विश्वकपमा कठिन दिनहरूको सामना गरिरहेको छ । सन् २०१८ र २०२२ का दुवै विश्वकपमा टोली लगातार दुई पटक समूह चरणबाटै बाहिरिनु जर्मनीका लागि ऐतिहासिक रूपमै कमजोर प्रदर्शन थियो । तर, सन् २०२६ को विश्वकपका लागि भने जर्मनीले बलियो पुनरागमनको संकेत दिएको छ ।
नोभेम्बर २०२५ मा स्लोभाकियालाई ६-० को फराकिलो अन्तरले हराउँदै जर्मनीले छनोट चरणको समूह 'ए' मा शीर्ष स्थान हासिल गरी विश्वकपको टिकट पक्का गरेको हो । यसपटक टोलीको कमाण्ड युवा प्रशिक्षक जुलियन नागेल्सम्यानको हातमा छ ।
नागेल्सम्यानले टोलीमा अनुभवी र नयाँ पुस्ताका खेलाडीको सन्तुलन मिलाएका छन् । यसपटकका प्रमुख खेलाडीमा ४० वर्षको उमेरमा सन्यास फिर्ता लिएर फर्किएका दिग्गज गोलकिपर मानुएल नोयर चर्चाको केन्द्रमा छन् । टोलीको आक्रमणको मेरुदण्डका रूपमा जमाल मुसियाला र क्याप्टेन जोशुआ किमिख रहेका छन् भने फ्लोरियन विर्ट्ज र काई हाभर्ट्जले टोलीलाई थप मजबुत बनाएका छन् ।
१८ वर्षीय युवा प्रतिभा लेनार्ट कार्ल पनि यसपटक विशेष आकर्षणका रूपमा रहनेछन् । समूह 'ई' मा रहेको जर्मनीले जुन १४ मा ह्युस्टनमा कुरासाओविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि टोलीले जुन २१ मा टोरन्टोमा आइभोरी कोस्ट र जुन २६ मा न्युजर्सीमा इक्वेडरको सामना गर्नेछ ।
नागेल्सम्यानको यो टोलीले जर्मनीलाई पाँचौं पटक विश्व विजेता बनाउला त ?