
काठमाडौं । अन्तत: २२ वर्षको प्रतीक्षापछि आर्सनलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।
जहाँ मिकेल आर्टेटाको छ वर्षे परियोजना, खेलाडीहरूको सामूहिक प्रदर्शन, एकेडेमीबाट उत्पादित युवा प्रतिभाको उदय र क्लबको रणनीतिक पुनर्निर्माण निर्णायक बन्यो । म्यानचेस्टर सिटी बर्नमथसँग १-१ को बराबरीमा रोकिएपछि आर्सनलको उपाधि पक्का भएको हो ।
यो सफलताको पछि प्रशिक्षण सत्रमा प्रयोग गरिएको मानसिक अभ्यास, एआई गीत जस्ता अनौठा तर, प्रेरणादायी तत्वहरू पनि जोडिएका छन् । प्रशिक्षण मैदानमा बालिएको आगो र एआई गीतले आर्सनललाई २२ वर्षपछि प्रिमियर लिग उपाधि जिताउन मद्दत गर्यो ।
यो सुन्दा अनौठो लाग्न सक्छ, तर यी प्रत्येक तत्वले आफ्नै तरिकाले उत्तर लन्डनमा मिकेल आर्टेटाको लामो प्रतीक्षापछिको सफलतामा योगदान दिएका छन् । जब म्यानचेस्टर सिटीले बोर्नमथसँग १-१ को बराबरी खेल्यो । आर्सनल २२ वर्षपछि इंग्लिस प्रिमियर लिगको च्याम्पियन बन्यो ।
यस खेलको नतिजा आएपछि लन्डनका सडकहरूमा आर्सनलका समर्थको ठूलो भीड लागेको थियो । उनीहरूले नारा लगाउँदै उत्सव मनाएका थिए । गत महिना मात्र आर्सनल खराब लयमा रहँदा उपाधि यात्रा जोखिममा पारेको थियो । मुख्य प्रशिक्षक मिकेल आर्टेटाले आफ्नो खेलाडीलाई नकारात्मक विचार क्लबको प्रशिक्षण मैदानमा बालिएको आगोमा फ्याँक्न भनेका थिए ।
आर्टेटाले खेलाडी, स्टाफ र उनीहरूका परिवारका लागि क्लबको मुख्यालयमा बार्बेक्यू आयोजना गर्थे जसले सम्बन्ध निर्माण र भावनात्मक एकता बलियो बनायो । आर्टेटाले जुन २०२० मा प्रक्रियामा विश्वास गर्नुपर्ने बताएका थिए । समयसँगै, उनी सही साबित भएका छन् ।
अहिले आर्सनल युरोपेली फुटबलकै सबैभन्दा प्रभावशाली टिममध्ये एक बनेको छ । धेरै विश्लेषकले यो सफलताको श्रेय आर्टेटा र आर्सनलका खेल निर्देशकलाई दिएका छन् । तर, यो सफलता धेरै वर्षको मेहनतको परिणाम पनि हो । पूर्व खेल निर्देशक एडु र उनले बनाएको टोली पनि प्रसंशाको हकदार छ ।
१५ खेलाडीमध्ये १० जना एडुको समयमा अनुबन्धन भएका थिए । क्लबको पुनर्निर्माण रणनीतिलाई पूर्ण समर्थन दिएका रिचर्ड गार्लिक र आर्सनलका मालिक जोश क्रोन्केले पनि क्लबलको सफलतामा योगदान दिएका छन् । क्लबको एकेडेमीका स्टाफहरु यो सफलताको बास्तविक हकदार हुन् ।
बुकायो साका, माइल्स लुइस-स्केली, एथान न्वानेरी र म्याक्स डाउम्यान सबै आर्सनल एकेडेमीकै उत्पादन हुन् । गनर्सले उपाधि दौडलाई सजिलो बनाउने धेरै अवसरहरू गुमाएको थियो । काराबाओ कप फाइनल र लिगकै दोस्रो भेटमा म्यानचेस्टर सिटीसाग हार व्यहोरेपछि उपाधिका लागि प्रतिस्पर्धा बढेको थियो नै खेलाडीहरु पनि मानसिक रुपमा कमजोर बनेका थिए ।
त्यसपछि आर्टेटाले रणनीति नै बदिलिदिए । उनले भावना र अन्तर्ज्ञानका आधारमा निर्णय लिन सुरु गरे । उनले एउटा नवीन प्रयोग गर्दै सम्पूर्ण खेलाडीको नाम समेटिएको एआई गीत तयार पारे । जसलाई खेलाडीले मन पराए र सिजनको एन्थम बन्न पुग्यो ।
उक्त एआई गितमा आर्टेटाको मनपर्ने भनाइमध्ये एक 'मेक इट ह्यापन' पनि समावेश छ । प्रिमियर लिग च्याम्पियन गनर्स अब च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा छ । ३० मे मा हुने फाइनलमा उसले पेरिस सेन्ट जर्मेन पीएसजीको सामना गर्ने छ ।
बुडापेस्टमा जित हासिल गरे आर्सनलको यो टोली क्लब इतिहासकै सबैभन्दा महान मानिनेछ। स्पेनिस प्रशिक्षक आर्टेटाको सम्झौता अर्को सिजनको अन्त्यमा सकिादैछ । आर्टेटाले खेलाडीका रुपमा समेत योगदान दिएको आर्सनलसँग नयाँ सम्झौता गर्ने अपेक्षा गरिएको छ ।