
काठमाडौं । फिफा विश्वकप २०२६ को भव्य मञ्च तयार छ, जहाँ फुटबलका महानायक क्रिस्टियानो रोनाल्डो आफ्नो ऐतिहासिक छैटौँ विश्वकप यात्रामा निस्कँदैछन् ।
आफ्नो 'गोल्डेन जेनेरेसन' लाई लिएर मैदान उत्रन लागेको पोर्चुगलको यस पटक विश्वकपमा कस्तो छ त ? समूह 'के' बाट आफ्नो यात्रा सुरु गर्न लागेको 'सेलेसाओ दास क्विनास' को बारेमा हामी आजको विश्वकप विशेषमा चर्चा गर्दैछौं ।
'सेलेसाओ दास क्विनास' अर्थात् पोर्चुगल । विश्व फुटबलमा कसैले फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डोको नाम लिन्छ भने उसको मानसपटलमा आउने पहिलो नाम हो पोर्चुगल । लुईस फिगो र ईसुबियोजस्ता खेलाडीहरुले पनि पोर्चुगल कै प्रतिनिधित्व गरेता पनि रोनाल्डोले नै पोर्चुगलको नाम विश्वफुटबलको पावर हाउसको रुपमा स्थापित गरेको सबैलाई थाहा छ ।
पोर्चुगलको विश्वकप इतिहास गौरवपूर्ण तर केही हदसम्म पीडादायी पनि छ। सन् १९६६ मा युसेबियोको नेतृत्वमा डेब्यूमै संस्करणमै तेस्रो स्थान हासिल गरेर विश्व फुटबललाई चकित पारेको यो टोलीले त्यसयता धेरै उतारचढाव देखेको छ । सन् २००६ मा चौथो स्थानमा चित्त बुझाउनु परेको पोर्चुगल अझै पनि आफ्नो पहिलो विश्वकप ट्रफीको पर्खाइमा छ ।
पछिल्लो संस्करणमा क्वार्टरफाइनल पुगेको क्रिस्टियानो रोनाल्डो नेत्तृतवको यस टोली आफ्नो नवौं सहभागिताको लागि तयार छ । २०२२ कतार विश्वकपमा अर्जेन्टिनाका लियो मेसीले विश्वकप उचाल्दै आफ्नो अन्तराष्ट्रिय ट्रर्फी क्याबिनेट पूरा गरे । २०१६ मा युरो कप र २०१९ र २०२५ मा नेसन्स लिग जितिसकेका क्रिस्टियानो कुनै ट्रफीका भोको छन् भने त्यो हो विश्वकपको त्यो सुनौलो ट्रफी ।
पोर्चुगलका लागि विश्वकप एउटा प्रतियोगिता मात्र नभइ, यो एक लेजेन्डको ऐतिहासिक यात्रा र एउटा राष्ट्रको अधुरो सपना पूरा गर्ने प्रयास पनि हो। कतार २०२२ को क्वार्टरफाइनलमा मोरक्कोसँगको अप्रत्याशित हारले पोर्चुगललाई स्तब्ध बनाएको थियो । सन् २०२५ को नेसन्स लिगको फाइनलमा स्पेनलाई हराएर उपाधि जितेपछि पोर्चुगल अहिले उच्च आत्मविश्वासका साथ मैदानमा उत्रिँदैछ ।
टोलीमा यस पटकको मुख्य आकर्षण हुन्- क्रिस्टियानो रोनाल्डो । ४१ वर्षको उमेरमा पनि आफ्नो अद्भुत अनुशासन र फिटनेसका साथ उनी छैटौँ पटक विश्वकप खेल्ने इतिहासकै पहिलो खेलाडी बन्दैछन् । यो विश्वकपमा उनको नजर केवल ट्रफीमा मात्र नभइ, उनी आफ्नो खेल जीवनको एक हजार गोलको ऐतिहासिक कोसेढुङ्गा नजिक पनि छन् ।
तर, यसपटक यो टोली केवल रोनाल्डोमा मात्र निर्भर छैन। पोर्चुगलसँग अहिले विश्वकै उत्कृष्ट भनिने 'गोल्डेन जेनेरेसन' छ। मिडफिल्डमा ब्रुनो फर्नान्डेजको क्रियटिभिटि, भिटिन्हाको सन्तुलन र बर्नाडो सिल्भाको खेलले विपक्षीलाई दबाबमा राख्ने निश्चित छ । रक्षापंक्तिमा रुबेन डियाजको र नुनो मेन्डेस टोलीका प्रमुख हतियार हुन् ।
यसपटक पोर्चुगल समूह 'के' मा छ । टोलीले आफ्नो क्याम्पेन जुन १७ मा ह्युस्टनमा डीआर कंगोविरुद्ध सुरु गर्नेछ । त्यसपछि जुन २३ मा उज्वेकिस्तान र जुन २८ मा मायामीमा कोलम्बियाविरुद्ध पोर्चुगलले समूह चरणको अन्तिम खेल खेल्नेछ । के रोनाल्डोले आफ्नो अन्तिम विश्वकपमा पोर्चुगललाई विश्वविजेता बनाउलान्?
के यो 'गोल्डेन जेनेरेसन'ले इतिहास रच्ला ? उत्तर अमेरिकाको मैदान तयार छ, र पोर्चुगल पनि आफ्नो नयाँ इतिहास लेख्न आतुर छ।