
काठमाडौं । फुटबलको ऐतिहासिक मञ्च, एस्टाडियो एज्टेका ।
सन् १९७० मा पेले र १९८६ मा म्याराडोनाको सफलताको साक्षी बनेको यो रङ्गशालाले जुन १२, २०२६ मा मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलको आयोजना गर्नेछ । यसै खेलमार्फत सहआयोजक मेक्सिकोले आफ्नो १८औं विश्वकप अभियानको सुरुवात गर्नेछ । विश्वकप विशेषमा आज मेक्सिको चर्चा ।
मेक्सिको विश्वकप इतिहासमा एक प्रभावशाली आयोजक र प्रतिस्पर्धी राष्ट्र मानिन्छ । मेक्सिको तीन पटक फिफा विश्वकप आयोजना गर्ने विश्वकै पहिलो देश बन्दैछ । मेक्सिकोले यसअघि सन् १९७० र १९८६ मा विश्वकप आयोजना गरिसकेको छ । १९७० मा मेक्सिको पहिलो पटक आफ्नो भूमिमा क्वार्टरफाइनलसम्म पुगेको थियो ।
समूह चरणमा बेल्जियम र एल साल्भाडोरलाई हराउँदै तथा सोभियत संघसँग बराबरी खेल्दै टोली अपराजित रहेर अघि बढेको थियो । तर, क्वार्टरफाइनलमा इटालीसँग ४-१ ले पराजित भयो । १९८६ मा मेक्सिको पुनः क्वार्टरफाइनलमा पुग्यो, जुन हालसम्मकै उसको उत्कृष्ट प्रदर्शन हो ।
राउन्ड अफ १६ मा बुल्गेरियालाई २-० ले पराजित गरेपछि मेक्सिकोले पश्चिम जर्मनीसँग क्वार्टरफाइनल खेल्यो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा मेक्सिको ४-१ ले पराजित हुन पुग्यो । यस पटक मेक्सिकन फुटबल टोलीको नेतृत्व अनुभवी प्रशिक्षक जाभियर अगुइरेले गर्नेछन् ।
उनको साथमा राष्ट्रिय टोलीका पूर्व कप्तान राफा मार्केज सहायक प्रशिक्षकको रूपमा छन् । जो २०२६ पछि टोलीको मुख्य प्रशिक्षक बन्ने सम्झौतामा आबद्ध छन् । रणनीतिमा अगुइरेले ४-३-३ को सन्तुलित संरचनालाई प्राथमिकता दिने गर्छन् । टोलीको मेरुदण्डको रूपमा कप्तान एड्सन अल्भारेज रहनेछन्, जसले रक्षापंक्ति र आक्रमणलाई जोड्ने 'बिर्ज'को काम गर्छन् ।
रक्षापंक्तिमा जोहान भास्केज र सेसार मोन्टेसको भूमिका महत्वपूर्ण हुन सक्छ भने राउल जिमेनेज र सान्टियागो गिमेनेज जस्ता खेलाडीहरूले आक्रमणको जिम्मेवारी सम्हाल्नेछन् । कतारमा सम्पन्न २०२२ को विश्वकप मेक्सिकोका लागि निराशाजनक बनेको थियो ।
सात पटक लगातार नकआउट चरण पुगेको मेक्सिको त्यस पटक समूह चरणबाटै बाहिरियो । मेक्सिकोले पोल्यान्डसँग गोलरहित बराबरी खेल्यो र साउदी अरेबियालाई २-१ ले हरायो । तर, अर्को खेलमा अर्जेन्टिनासँग पराजित भएपछि टोली गोल अन्तरका आधारमा पछि पर्दै समूह चरणबाटै बिदा भएको थियो ।
मेक्सिकोको लागि सबैभन्दा ठूलो चुनौती वर्षौंदेखिको क्वार्टो पार्टिडो- अर्थात् चौथो खेलको बाधा पार गरेर क्वार्टरफाइनल पुग्नु हो । ऐतिहासिक तथ्याङ्कअनुसार मेक्सिकोले आफ्नो उत्कृष्ट प्रदर्शन आफ्नै भूमिमा गरेको छ । फिफा विश्वकप २०२६ को समूह एमा रहेको मेक्सिकोले जुन १२ मा दक्षिण अफ्रिकासँग खेल्दै विश्वकपको सुरूवात गर्ने छ ।
त्यसपछि १९ जुनमा दक्षिण कोरिया र जुन २५ मा चेकियासँग प्रतिस्पर्धा गर्ने छ । घरेलु मैदान, परिचित वातावरण र नयाा रणनीतिक नेतृत्वका साथ मेक्सिको आफ्नो फुटबल इतिहासलाई पुनर्लेखन गर्ने तयारीमा छ । तर, विश्वस्तरका टोलीहरू विरूद्ध मेक्सिकोको प्रदर्शन कस्तो रहला, त्यो हेर्न भने २०२६ को जुन १२ सम्म कुर्नुपर्नेछ ।