
झापा । नेपालमा भुटानी शरणार्थी समस्या सुरु भएको तीन दशकभन्दा बढी भइसक्यो ।
तेस्रो देश पुनर्स्थापना प्याकेजअन्तर्गत धेरै शरणार्थी अमेरिका क्यानडालगायतका देशमा स्थापित भइसकेको भए पनि अझै झन्डै ६ हजार भुटानी झापा र मोरङका शिविरमा बसिरहेका छन् । तीमध्ये केही पारिवारिक पुनर्मिलनको आशमा तेस्रो देश पुनर्स्थापना भएका आफन्तसँगै जान इच्छा गरिरहँदा केहीलाई अझै पनि आफ्नै जन्मथलो भुटान फर्किन पाउने आशा छ ।
स्वदेश फिर्तीका लागि प्रभावकारी कूटनीतिक पहल हुनुपर्ने माग उनीहरूको छ । झापाको दमक बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको यो छाप्रोमा आइपुग्यो भने भेटिनुहुन्छ ८५ वर्षीय धनबहादुर तामाङ । ३५ वर्षअघि भुटान सरकारले निर्वासित गरेपछि उहाँ अनेक हन्डरठक्कर खाँदै झापाको दमकस्थित बेलडाँगी शिविरमा बस्न आइपुग्नुभएको हो ।
धनबहादुर श्रीमती, दुई छोरा, एक छोरी छन् । बर्खा लाग्नै आँट्यो । बाँसका भाटाले बारेर बनाइएको यो घर पानी पर्नेबित्तिकै चुहिन थाल्छ । धनबहादुरको परिवारलाई रातभर निदाउनै मुस्किल पर्छ । जीवनको उत्तरार्धमा पनि उहाँलाई स्वदेश फिर्तिकै आशा छ ।
धनबहादुरकी श्रीमती फूलमाया र जेठा छोरा मनिष रतन्धो रोगबाट पीडित हुनुहुन्छ । आर्थिक अभावका कारण उपचार गराउन सहज छैन । बिहान के खाए बेलुका के खाने भन्ने पिरलोमै यो परिवारको जिन्दगी अल्झिएको छ । शिविरभित्र कसैको घरमा ज्यालामजुरीको काम पाए एक छाक टर्छ, नपाए भोकै बस्नुपर्छ ।
धनबहादुरका कान्छा छोरा बिहान-बेलुकाको छाक टार्नकै लागि चर्च धाउने गर्नुहुन्छ । शिविर क्षेत्रमै रहेको चर्चमा खाना पाइने आशाले त्यहाँ जाने गरेको उहाँ बताउनुहुन्छ । धनबहादुरकी छोरी अनिशा विवाहपछि अमेरिका जानुभएको छ ।
केही समयअघिसम्म शिविरबाट थोरै भए पनि सहयोग पाइने गरेको थियो। तर, अहिले सहयोगीले हात झिक्दै जाँदा त्यो पनि पाइँदैन । आफ्नै देश फर्कने आशामा रहेका धनबहादुरलाई कसले पहल नगर्दा वा नपुग्दा आफ्नो माटोमा फर्किन नपाइएको हो भन्ने पनि त्यति जानकारी छैन ।
धनबहादुरजस्तै स्वदेश फिर्तीको आशामा रहेका बेलडाँगी शिविरका धेरै शरणार्थीलाई अझै आफ्नो जन्मभूमि टेक्ने झिनो आशा छ । यसका लागि नयाँ सरकारले कूटनीतिक पहल गरिदेओस् भन्ने उनीहरूको माग छ । पूर्वी मोरङको पथरी शनिश्चरेमा पनि १ हजार ५ सयजति भुटानी शरणार्थीहरू शिविर बनाएर बसोबास गर्दै आएका छन् ।
सुजन गौतमकाे रिपार्ट