
काठमाडौं । सन्दीपल लामिछाने नेपाली क्रिकेटका ग्लोबल आइकन हुन् ।
उनको लेगस्पिनले हरेक विपक्षीलाई समस्यामा पार्दै आएको छ । उनको गुग्लीले विकेट मात्रै ढल्दैन नेपाली क्रिकेटको गौरव पनि नयाँ उचाइमा पुर्याउँछ । हरेक खेलमा कुनै न कुनै कीर्तिमान पछ्याइरहेका सन्दीपले आज एकदिवसीय अन्तर्राष्ट्रियमा सबै भन्दा छिटो १ सय ५० विकेट पुरा गर्ने विश्व कीर्तिमान आफ्नो नाममा गरेका छन् ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हजारौं समर्थकरू एउटा ऐतिहासिक क्षणको साक्षी बने । जहाा सन्दीपले फेरि एक पटक विश्व कीर्तिमान स्थापित गरे । आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा दोस्रो विकेट लिँदा उनले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १ सय ५० विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा लेखाए ।
यसअघि अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कले ७७ खेलमा यो उपलब्धी हासिल गरेका थिए । सन्दीपलाई १ सय ५० ओडीआई विकेट पूरा गर्न केवल ७३ खेल लाग्यो । जब उनले जर्ज मुन्जेलाई आउट गर्दै १ सय ४९औं ओडीआई विकेट पूरा गरे, समर्थकको मुटुको चाल बढ्न सुरू भएको थियो ।
२०औं ओभरको अन्तिम बलमा ७३ रन बनाएका ब्रान्डन मकमलेनलाई क्याच आउट गराएपछि टीयू क्रिकेट मैदानले सन्दीपलाई अभिनन्दन गर्यो । मकमलेनको विकेटसँगै सन्दीपले नयाँ विश्व कीर्तिमान स्थापित गरेका हुन् । एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय विकेट लिने कीर्तिमान पनि सन्दीपकै नाममा छ ।
उनले ४२ खेलमा १ सय विकेटको कीर्तिमान बनाएका छन् । ओडीआई क्रिकेटमा लगातार ३ खेलमा ४ विकेट लिने रेकर्ड पनि उनकै नाममा छ । पीएनजीविरुद्ध मात्र ११ रन खर्च गरेर ६ विकेट लिएको जादुई स्पेल उनको वेस्ट बलिङ फिगर हो । आईपीएल, विगब्यास, पीएसएल र सीपीएललगायतका विश्व भरका ठूला लिग खेलिसकेका सन्दीपको बलिङ रिड गर्न संसार भरका ब्याटरलाई चूनौतीपूर्ण हुने गर्छ ।
२०१८ मेमा विश्व ११ बाट वेस्ट इन्डिजविरुद्ध खेल्दै सन्दीपले टी-२० आई डेब्यू गरेका थिए । उनले ७४ टी-२० आई खेलमा १ सय ३६ विकेट लिएका छन् । उनले २०१८ अगस्ट १ मा नेपालले खेलेको पहिलो ओडीआई खेलमै एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए ।
उनले ७३ एकदिवसीय अन्तर्राष्ट्रियमा ७३ खेल खेल्दै १ सय ५१ विकेट लिएका छन् । सानै उमेरमा विश्व क्रिकेटका ठूला मञ्चमा पाइला राख्दै आफूलाई प्रतिभाशाली र प्रतिबद्ध खेलाडीको रूपमा स्थापित गरेका सन्दीपको अनुभव र परिपक्वताले नेपाली क्रिकेटलाई नयाँ उचाइ प्रदान गरेको छ ।