
काठमाडौं । नौ पटकको असफल प्रयास र दशकौँको प्रतीक्षापछि, जोर्डन अन्ततः विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा पाइला टेक्दैछ ।
सन् २०२५ को जुन महिनामा ओमानविरुद्धको जितले 'अल-नाश्मा' का लागि उत्तर अमेरिकाको ढोका खुलेको हो । विश्व वरीयताको ६३औँ स्थानमा रहेको यो टोली अहिले विश्वकपमा केवल सहभागी हुन मात्र होइन, इतिहास रच्ने तयारीमा छ ।
'अल-नाश्मा' अर्थात– साहसीहरू भनेर चिनिने जोर्डनको फुटबल टोली पछिल्ला वर्षहरूमा एसियाली फुटबलको एक उदीयमान शक्तिको रूपमा देखिएको छ । जोर्डनको फुटबलमा सन् २०२१ देखि २०२३ सम्म इराकी प्रशिक्षक अदनान हमादको नेतृत्वमा सुधार सुरु भएको मानिन्छ ।
उनले टोलीलाई रक्षात्मक रूपमा बलियो बनाएका थिए । त्यसपछि मोरक्कन प्रशिक्षक हुसेन अम्मौताको आगमनसँगै टोलीले आक्रामक फुटबल खेल्न थाल्यो र २०२३ को एएफसी एसियन कपको फाइनलसम्म पुगेर इतिहास रच्यो । हाल मोरक्कन प्रशिक्षक जमाल सेलामीले टोलीलाई सम्हालिरहेका छन् र जोर्डन फिफा वरीयतामा ६३औँ स्थानमा छ ।
२०२६ को विश्वकपका लागि छनोट हुनुअघि जोर्डनले ९ पटकको प्रयासमा असफलता मात्र हात पारेको थियो । जोर्डनको इतिहासमा सबैभन्दा स्मरणीय क्याम्पेन सन् २०१४ को ब्राजिल विश्वकपको छनौट थियो । २०१४ को प्ले-अफमा जोर्डनले उज्वेकिस्तानलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तरमहादेशीय प्ले-अफमा स्थान बनाएको थियो ।
विश्वकपको अन्तिम खुड्किलोमा जोर्डनले लुइस सुआरेज र एडिन्सन काभानी जस्ता स्टार खेलाडीहरूले भरिएको उरुग्वेको सामना गर्नुपर्यो । घरेलु मैदानमा ५-० को हार र उरुग्वेमा भएको गोलरहित बराबरीपछि जोर्डनको विश्वकप सपना टुङ्गिएको थियो ।
२०२६ विश्वकपको लागि भने ५ जुन २०२५ मा मस्कटमा भएको खेलमा ओमानलाई ३-० ले पराजित गर्दै जोर्डनले पहिलो पटक फिफा विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्यो । उक्त खेलमा अली ओल्वानले ह्याट्रिक गरेका थिए । यस पटकको विश्वकपको लागि टोलीको मुख्य खम्बा हुन्मु- सा अल-तामारी ।
युरोपको शीर्ष पाँच लिगमा खेल्ने पहिलो जोर्डनी खेलाडी तामारीको अनुभव नै जोर्डनको मुख्य हतियार हुनेछ । यद्यपि, चोटका कारण मुख्य फरवार्ड याजन अल-नैमत टोलीमा नहुनु जोर्डनका लागि एउटा ठूलो चुनौती हुनेछ । फिफाको सहयोगमा निर्माण गरिएका अत्याधुनिक 'अल-करामह राष्ट्रिय टिम सेन्टर' र सुधारिएका पूर्वाधारले यहाँको व्यावसायिक फुटबललाई नयाँ उचाइ दिएको छ ।
२०२६ को विश्वकपमा जोर्डन निकै कठिन समूहमा छ, जहाँ उसले साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ । समूह 'जे' मा जोर्डनले विश्व च्याम्पियन अर्जेन्टिना, अल्जेरिया र अस्ट्रिया जस्ता बलिया टोलीहरूको सामना गर्नेछ । १६ जुनमा अस्ट्रियाविरुद्ध हुने पहिलो खेल जोर्डनका लागि आफ्नो विश्वकपको पहिलो खेल हुनेछ ।