
काठमाडौँ । १२ वर्षको लामो प्रतीक्षा र दुईवटा विश्वकपको अनुपस्थितिपछि अफ्रिकी पावरहाउस कोत–दि–भोर पनि भनिने आइभरी कोस्ट फिफा विश्वकपको महाकुम्भमा फर्किएको छ । अन्तिम पटक सन् २०१४ मा ब्राजिल विश्वकप खेलेको यो टोलीले २०१८ र २०२२ को संस्करण गुमाएपछि २०२६ को लागि आफ्नो स्थान सुरक्षित गरेको हो । आजको विश्वकप विशेषमा हामी ‘द एलिफेन्ट्स’ उपनाम ले परिचित आइभरी कोस्टको चर्चा गर्दैछौँ ।
आइभोरी कोस्टको विश्वकप इतिहास तुलनात्मक रूपमा छोटो छ । टोलीले पहिलो पटक सन् २००६ मा जर्मनी विश्वकपमा डेब्यु गरेको थियो र त्यसपछि लगातार २०१० र २०१४ गरी तीनवटा संस्करणमा सहभागिता जनाइसकेको छ । यद्यपि, यी सबै तीन सहभागिताहरूमा टोली समूह चरणबाटै बाहिरिएको थियो । सन् २०१४ को ब्राजिल विश्वकप नै आइभोरी कोस्टको अन्तिम र अहिलेसम्मकै उत्कृष्ट क्याम्पेन मानिन्छ । त्यस संस्करणमा उनीहरूले जापानलाई पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना बनेको थियो । तर कोलम्बिया र ग्रीससँग पराजित भएपछि उनीहरूको यात्रा समूह चरणमा नै टुङ्गिएको थियो ।
आइभोरियन फुटबलको चर्चा गर्दा यहाँका ‘लेजेन्ड’ खेलाडीहरूलाई बिर्सन सकिँदैन । ६५ गोलका साथ टोलीका सर्वाधिक गोलकर्ता डिडिए ड्रोग्बा, मिडफिल्डका याया तोरे, रक्षापङ्क्तिका कोलो तोरे र विङ्गर गेर्भिन्होजस्ता खेलाडीहरूले नै आइभोरी कोस्टलाई विश्व फुटबलमा चिनाएका थिए ।
कोस्टको विश्वकप पुनरागमनको आधार सन् २०२४ मा घरेलु मैदानमा जितेको एफ्कन उपाधि बन्यो । समूह चरणमा खराब प्रदर्शनपछि प्रशिक्षक जीन–लुइस ग्यासेटलाई हटाएर इमर्स फाएले अन्तरिम जिम्मेवारी सम्हालेपछि टोलीले नाटकीय पुनरागमन गर्दै फाइनलमा नाइजेरियालाई २–१ ले हराएर तेस्रो पटक अफ्रिकी च्याम्पियन बनेको थियो ।
यस पटक २०२६ को यात्रा तय गर्ने क्रममा आइभोरी कोस्टले आफ्नो इतिहासकै सबैभन्दा प्रभावशाली प्रदर्शन गरेको छ । समूह ‘एफ’ को विजेता बन्ने क्रममा उनीहरूले १० खेलमा ८ जित र २ बराबरी खेल्दै २६ अंक जोडे । सबैभन्दा गौरवपूर्ण तथ्य त के छ भने, ट्युनिसियासँगै आइभोरी कोस्ट छनोट चरणका सबै खेलमा एक गोल पनि नब्यहोरि विश्वकप पुग्ने इतिहासकै पहिलो टोली बन्यो ।
प्रशिक्षक इमर्स फाएले अहिले टोलीमा आक्रामक फुटबल भित्र्याएका छन् । म्यानचेस्टर युनाइटेडका आमाद डियालो र आरबी लाइपजिगका युवा प्रतिभा यान डियोमान्डेको आक्रमण अनि अनुभवी फ्रान्क केसीको मिडफिल्ड नेतृत्वले टोलीलाई सन्तुलित बनाएको छ । रक्षापङ्क्तिमा एभन डिकाको उपस्थितिले टोलीलाई थप मजबुत बनाएको छ ।
यस पटक यो टोली समूह ‘ई’ मा छ, जहाँ उसले पूर्वविश्वविजेता जर्मनी, इक्वेडर र डेब्युटेन्ट कुरासाओको सामना गर्नेछन् । प्रशिक्षक फाएले आफ्नो टोलीले पहिलो पटक समूह चरण पार गर्दै इतिहास रच्ने दृढता व्यक्त गरेका छन् ।
अफ्रिकी च्याम्पियन र ऐतिहासिक रक्षात्मक रेकर्डका साथ मैदान उत्रन लागेको ‘द एलिफेन्ट्स’ यस पटक २०२६ विश्वकपमा धेरैको ध्यान तान्ने टोली बन्ने निश्चित छ ।