
काठमाडौं । सन् २०२६ फिफा विश्वकप अमेरिकाका लागि १२औं सहभागिता हुने छ ।
यसपटक अमेरिकाले सह-आयोजकका रुपमा विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको हो । अमेरिकासँगै क्यानडा र मेक्सिको सह-आयोजक छन् । ४८ टोली सहभागी हुने यो विस्तारित संस्करणले विश्वकपलाई अझ विशाल बनाएको छ, र आयोजक राष्ट्रका रूपमा अमेरिकाको लक्ष्य पनि नयाँ इतिहास निर्माण गर्ने हुनेछ ।
आजको विश्वकप विशेषमा हामी सह-आयोजक अमेरिकाको चर्चा गर्नेछौं ।
यसअघि सन् १९९४ मा विश्वकप आयोजना गरिसकेको अमेरिकाले त्यसबेला घरेलु मैदानको फाइदा उठाउँदै अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । अहिलेको अवस्था भने फरक छ । टोलीमा नयाँ पुस्ताका खेलाडी, नयाँ रणनीति र नयाँ नेतृत्वसहित अमेरिका अगाडि बढिरहेको छ ।
सेप्टेम्बर २०२४ मा प्रशिक्षक नियुक्त भएका अर्जेन्टिनाका पूर्वअन्तर्राष्ट्रिय खेलाडी मौरिसियो पोचेटिनोले टोलीलाई नयाँ ढंगले निर्माण गरिरहेका छन् । यसअघि उनले इंग्ल्याण्ड, फ्रान्स र स्पेनका ठूला क्लबहरूमा सफल प्रशिक्षकका रूपमा काम गरिसकेका छन्, र त्यही अनुभव अब अमेरिकी टोलीमा प्रयोग भइरहेको छ ।
विश्वकप इतिहासमा अमेरिकाको यात्रा निकै रोचक छ । सन् १९३० मा उरुग्वेमा आयोजना भएको पहिलो विश्वकपमै सहभागी भएको अमेरिका त्यसबेला सेमिफाइनलसम्म पुगेको थियो । पाराग्वे र बेल्जियमलाई पराजित गर्दै अन्तिम चारमा पुगेको टोली अर्जेन्टीनासँग ६-१ ले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।
त्यो नै विश्व कपमा अमेरिकाको अहिलेसम्मको उत्कृष्ट उपलब्धी हो । अमेरिकी फुटबल इतिहासमा सन् १९५० को विश्वकप सबैभन्दा स्मरणीय मानिन्छ । त्यस प्रतियोगितामा विश्वकै शक्तिशाली टोली मानिएको इंग्ल्यान्डलाई १-० ले हराउँदै अमेरिकाले संसारलाई चकित पारेको थियो । त्यो जित फुटबल इतिहासकै सबैभन्दा ठूलो आश्चर्यमध्ये एक मानिन्छ ।
यस्तै सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अमेरिकी गोलरक्षक टिम हावर्डले बेल्जियमविरुद्ध १६ वटा उत्कृष्ट बचाउ गर्दै नयाँ कीर्तिमान बनाएका थिए । यद्दपि उसले अतिरिक्त समयमा २-१ को हार बेहोरेको थियो । सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपमा अमेरिकाले राम्रो प्रदर्शन गर्दै समूह चरण पार गरेको थियो ।
इंग्ल्यान्ड, इरान र वेल्सजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्दै अमेरिका अपराजित रूपमा समूहको दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको थियो । तर, त्यसपछि नेदरल्याण्ड्ससँग ३-१ ले पराजित हुँदा उसको विश्वकप यात्रा टुंगिएको थियो । अमेरिकाले हालसम्म सन् १९३०, १९३४, १९५०, १९९०, १९९४, १९९८, २००२, २००६, २०१०, २०१४ र २०२२ को फिफा विश्वकप खेलिसेको छ ।
२०२६ संस्करण उसका लागि विश्वकपमा १२औं सहभागिता हुने छ । विश्वकपमा ल्यान्डन डोनोभान अमेरिकाका सबैभन्दा सफल खेलाडी मानिन्छन् । उनले तीन विश्वकपमा पाँच गोल गरेका छन् । साथै १२ खेल खेल्दै सबैभन्दा बढी सहभागिता जनाउने खेलाडीको कीर्तिमान पनि उनकै नाममा छ ।
विश्व वरियातामा हाल १६औं स्थानमा रहेको अमेरिका फिफा विश्वकप २०२६ को समूह डीमा रहेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा उसले १३ जुनमा पाराग्वेसँग हुनेछ । त्यसपछि २० जुनमा अस्ट्रेलिया र २६ जुनमा टर्कीसँग भिड्नेछ ।
यसरी हेर्दा अमेरिको विश्वकप इतिहास उतारचढावपूर्ण देखिन्छ । कहिले चमत्कारिक जित त कहिले निराशाजनक हार । तर, अब समय फेरिएको छ । घरेलु मैदान, समर्थकको अपार साथ, अनुभवी प्रशिक्षक र ऊर्जाशील युवा खेलाडीहरूको संयोजनले अमेरिका सन् २०२६ मा सफलताको नयाा कथा लेख्ने तयारीमा छ ।