
काठमाडौँ । अघिल्लो विश्वकपमा सहभागी हुन नपाएको पीडालाई किनार लगाउँदै अनुशासन र लडाकु मानसिकतासहित इजिप्टले फिफा विश्वकपमा पुनरागमन गरेको छ । ९१ वर्षपछि अपराजित रहँदै विश्वकप छनोट पार गरेको फारोज्सले यही लय कायम गर्दै पहिलोपटक नकआउट पुग्न सक्ला त ? होसम हसनको प्रशिक्षणमा रहेको इजिप्टको तयारी कस्तो छ त ? विश्वकप विशेष शृंखलामा आज अफ्रिकी फुटबलको शान इजिप्टका कुरा ।
अफ्रिकी छनोटको अन्तिम चरणमा सेनेगलसँग भएको पेनाल्टी सुटआउटमा पराजित भएपछि इजिप्टले २०२२ फिफा विश्वकप गुमाएको थियो । २०२६ मा भने यो नियति पूरै उल्टियो । शक्तिशाली पुनरागमन गर्दै इजिप्ट चौथोपटक विश्वकपमा हाजिर हुन लागेको छ । अफ्रिकी फुटबल महासंघको प्रतिधित्वि गर्ने इजिप्टले यसअघि १९३४, १९९० र २०१८ मा विश्वकप खेलेको थियो ।
विश्वप्रसिद्ध फुटबलर मोहम्मद सलाह यो टोलीको नेतृत्व गर्दै मैदानमा उत्रिने तयारीमा छन् । अनुभव र युवा प्रतिभाको सुन्दर संयोजन रहेको यो टोलीमा ओमार मरमौश, ट्रेजेगुएट र मोस्ताफा मोहम्मदजस्ता प्रतिभाशाली खेलाडीहरू रहने छन् ।
इजिप्सियन फुटबलका सर्वकालीन महान् होसम हसन अहिले यो टोलीका प्रशिक्षक छन् । २०२४ मा हसनले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेयता फारोज्सले आक्रमण र रक्षात्मक दुवै पक्षमा सन्तुलित र उत्कृष्ट प्रदर्शन गरिरहेको छ नै यही अवधिमा ९१ वर्षपछि पहिलोपटक अपराजित रहँदै विश्वकपमा छनोटसमेत भएको छ । विश्वकप छनोटमा इजिप्टले कुल २० गोल गर्दा ९ गोल मोहम्मद सलाह एक्लैको छ । छनोट चरणभर टोलीले केवल २ गोल बेहोरेको छ । यो उपलब्धिको आधार फारोज्स टोलीको मजबुत रक्षात्मक संरचना हो । जसलाई क्लब तहका अनुभवी र उत्कृष्ट खेलाडीहरूले टेको दिएका छन् ।
विश्वकपमा इजिप्ट अहिलेसम्म पनि नकआउट चरणमा पुग्न भने सकेको छैन । हालसम्म विश्वपमा ७ खेल खेल्दा उसले २ मा बराबरी र ५ मा हार बेहोरेको छ । तर जुन लय अहिले टोलीले समातेको छ, त्यसले यो नियति बदल्ने भरपूर सम्भावना देखाएको छ ।
त्यसो त मौसम प्रतिकूल नहुन्थ्यो भने इजिप्टले सन् १९३० को पहिलो विश्वकपमै झन्डा फहराउने थियो । तर समुद्री आँधीका कारण इजिप्टको दक्षिण अमेरिका यात्रा छुटेको थियो । लगत्तैको अर्को संस्करणमा भने अफ्रिकी र अरब राष्ट्रको प्रतिनिधित्व गर्दै इजिप्ट विश्वकप प्रवेश गरेको थियो । सन् १९९० को विश्वकप इजिप्टको दोस्रो सहभागिता थियो । जहाँ नेदरल्यान्ड्ससँग १-१ को बराबरी खेल्दै उसले विश्वकप इतिहासमै पहिलो अंक जोडेको थियो । यस खेलमा मग्दी अब्देलघानीले पेनाल्टीमार्फत ऐतिहासिक गोल गरेका थिए । तेस्रो सहभागिताका लागि उसले २८ वर्ष कुर्नुपर्यो । सन् २०१८ मा अर्जेन्टिनी प्रशिक्षक हेक्टर कुपरको नेतृत्वमा इजिप्ट विश्वकपमा फर्किएको थियो । जहाँ अहिलेका कप्तान मोहम्मद सलाह उरुग्वेविरुद्धको पहिलो खेलमा चोटका कारण अनुपस्थित थिए । तर घरेलु टोली रुस र समूह चरणको अन्तिम खेलमा साउदी अरेबियाविरुद्ध भने उनले १-१ गोल गरेका थिए ।
इजिप्ट अफ्रिकी महादेशकै सबैभन्दा सफल फुटबल राष्ट्र हो । उसले ७ पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ ।
यसपटक विश्वकपमा इजिप्ट समूह ‘जी’मा छ । उसको पहिलो खेल १६ जुनमा बेल्जियमसँग हुनेछ । त्यसपछि २२ जुनमा न्युजिल्यान्ड र २७ जुनमा इरानसँग प्रतिस्पर्धा गर्नेछ । जहाँ धेरैको ध्यान सलाहमाथि नै हुनेछ । तर के सलाहको नेतृत्वमा इजिप्ट पहिलोपटक समूह चरण पार गर्ला त ?