
काठमाडौं । नदी कटान र डुबानका कारण झापाका दर्जनौँ गाउँबस्ती जोखिममा छन्।
जोखिमका बस्ती जोगाउन भन्दै त्यहाँका पाँचवटा ठूला खोलानदीमा १७ वर्षदेखि तटबन्ध निर्माणको काम भइरहेको छ। तर, लक्ष्यअनुसार काम अघि नबढ्दा हरेक वर्ष बाढी गाउँ पस्ने क्रम रोकिएको छैन। १७ वर्षदेखि निरन्तर तटबन्ध गर्दा पनि झापामा नदी कटान नियन्त्रणको काम प्रभावकारी देखिएको छैन।
२०७६ सालमा तयार पारिएको डीपीआरअनुसार यहाँका रतुवा-मावा, कमल, कन्काई, बिरिङ र मेची नदीमा गरी ३०३.६६ किलोमिटर तटबन्ध गर्नुपर्ने थियो। तर, अहिलेसम्म मुस्किलले १ सय ३६ किलोमिटरमात्र काम भएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका अनुसार सबैभन्दा बढी रतुवा मावामा ९० दशमलव ८५ किलोमिटर तटबन्ध गर्नुपर्ने छ ।
त्यसमध्ये हालसम्म करिब ४० किलोमिटर तटवन्ध भएको छ । त्यस्तै बिरिङमा ६५ दशमलव ९ किलोमिटर तटबन्ध गर्नुपर्नेछ । यहाँ हालसम्म मुस्किलले ३० किलोमिटर तटबन्ध गरिएको छ । ५३ दशमलव १ किलोमिटर तटबन्ध गर्नुपर्ने कन्काईमा हालसम्म ३० किलोमिटर हाराहारी मात्र भएको छ ।
यसैगरी कमल खोलामा ४६ दशमलव ८४ किलोमिटर तटबन्ध गर्नुपर्नेमा अहिलेसम्म करिब १६ किलोमिटरमात्र तटबन्ध भएको छ । नेपाल-भारत सीमा मेची नदीमा ४६ दशमलव ९७ किलोमिटर तटबन्ध गर्नुपर्नेमा अहिलेसम्म १२ किलोमिटरमात्र सुरक्षित गरिएको छ ।
यी नदीमा तटबन्ध गर्न संघीय सरकारका साथै राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत एसियाली विकास बैंकले लगानी गरेको छ । नदि कटान र डुबानबाट सबैभन्दा बढी प्रभावित बन्दैआएको झापा गाउापालिकाको सुगाबथान र कबाडी बस्तीका साथै शिवसताक्षीको गोल ग्राउन्डका बासिन्दा बर्खा लागेपछि निदाउनै पाउँदैनन् ।
कन्काईमा थोरै बाढी आउँदा पनि धार सोझै बस्तीतिर छिर्ने गरेको छ । यी बस्ती जोगाउन तटबन्ध निर्माण भइरहेकाले आउादो बर्खामा भन बाढी नपस्ला कि भन्ने आशामा यहाँका बासिन्दा छन् । डुबानको समस्या झेल्दै आएका स्थानीयलाई यसको त्रासबाट जोगाउन तटबन्ध निर्माणका लागि बारम्बार आयोजना कार्यालयलाई दबाब दिनुपरेको झापा गाउँपालिकाका जनप्रतिनिधि बताउँछन् ।
जिल्लास्थित विपद् व्यवस्थापन समितिले पनि डुबान प्रभावित बस्ती जोगाउन तटबन्ध निर्माणलाई तिव्रता दिन पहल गर्दैआएको जनाएको छ । डीपीआरअनुसार झापाका पाँच नदीमा तटबन्ध पूरा गर्न १७ अर्ब ६१ करोड ७ लाख २२ हजार लाग्ने अनुमान छ। तर, सरकारले वार्षिक विनियोजन गर्ने झिनो बजेटले डीपीआरको लक्ष्य भेट्न अझै वर्षौं कुर्नुपर्ने देखिन्छ।