
प्यूठान । घरका सदस्य काममा जाँदा होस वा घर बाहिर हुँदा दिनभर जेष्ठ नागरिक घरमा एक्लै बस्नुपर्ने बाध्यता छ।
अझ पछिल्लो समय त रोजगारी, उच्च शिक्षाको खोजी र फेरिएको जीवनशैलीले परिवारका सदस्य सहर जाँदा गाउँमा अधिकांश घरमा जेष्ठ नागरिक मात्रै भेटिन्छन्। यसरी घरमा एक्लै बस्ने जेष्ठ नागरिक समय कटाउन निकै दुःख हुने गुनासो गर्छन्।
तर, प्यूठानको खैरामा भने गाउँभरीका जेष्ठ नागरिकहर" एकै ठाउँमा जम्मा भएर भजनकीर्तन र नाचगान गरेर रमाइलोका साथ दिन दैनिकी व्यतित गर्न थालेका छन्। प्यूठान नगरपालिका १ खेराकी सावित्रा आचार्यको दिनचर्या सहज भएको छ।
बिहानको खाना खाएर दिनभरको फुर्सदिलो समयमा उहाँ भजनकीर्तनमा सहभागी हुनुहुन्छ। गाउँका अन्य जेष्ठ नागरिकसँगै भलाकुसारी गर्ने र भजनकीर्तनमा रमाउन थालेपछि ९३ वर्षिया सावित्रा दिन बितेको पत्तै नहुने सुनाउनुहुन्छ । घरमा दिनभरी एक्लै बस्नुपर्दा दिन बिताउन समस्या हुने सावित्रा आचार्यलाई गाउँमा भजनकीर्तन सुरु भएपछि दिन कटाउन सजिलो भएको हो ।
सावित्रा आचार्यजस्तै खैराका अन्य जेष्ठ नागरिक अहिले खैरा गाउँको मध्ये भागमा सञ्चालन भइरहेको भजनमा सरिक भएर रमाइरहेका छन् । उमेरले कोल्टे फेर्दै गरेका जेष्ठ नागरिक भजनकीर्तनमा सहभागी हुन्छन्, नाच्छन् र गाउँछन् पनि । जेष्ठ नागरिकसँगै गाउँका अन्य पाका र युवापुस्ता पनि भजनमा सहभागी भएर जेष्ठ नागरिकसँगै रमाइलो गरिरहेका छन् ।
भजनकीर्तनसँगै दुःख साटासाट गर्ने, एक आपसमा भेटघाट हुने माध्यम वा बनेको छ । खैराका जेष्ठ नागरिकहरूले बयोवृद्ध जेष्ठ नागरिक अनाथ असहाय मञ्च स्थापना गरेर दिवा सेवा सञ्चालन गर्दै आएका छन् । दिवा सेवामा बयोवृद्ध दैनिक ३ देखि ४ घण्टासम्म भजनकीर्तन गर्ने, नाच्ने, रमाइलो गर्ने र दुःख साटासाट गर्ने गर्छन् ।
बालबालिका र युवा नहुँदा सुनसान हुने गाउँमा जेष्ठ नागरिकलाई दिन कटाउन निकै समस्या हुने गरेको छ । समय बिताउन यसरी एकै ठाउँमा जम्मा भएर भजनकीर्तन गर्ने, दुःख साटासाट गर्ने र महिनौसम्म एक आपसमा भेट नहुनेहरु पनि अहिले दिनहुँ एकै ठाउँमा जम्मा भएर रमाइरहेका छन् ।
प्रदेश सरकारले पनि उनीहरूलाई दिवा सेवा कार्यक्रम सञ्चालमा गर्न सहयोग गरेको छ । छोराछोरी र नातेदार नहुँदा दिनभरीजसो घरमा एक्लै भएको अनुभूति गर्ने जेष्ठ नागरिक पनि दिवासेवा कार्यक्रमले खुसी भएका छन् ।