माग र मूल्य नपाएपछि काभ्रेमा घरघरमै कुहिन थाल्यो आलु

व्यापारीको प्रस्ताव १२ रुपैयाँ, तर २० घटी लागत नउठ्ने किसानको गुनासो
जेष्ठ ४, २०८३ |विकास आचार्य
माग र मूल्य नपाएपछि काभ्रेमा घरघरमै कुहिन थाल्यो आलु

काठमाडौं । काभ्रेका किसान आलु बिक्री नभएर चिन्तामा छन् ।

काभ्रे कुशादेवीका विदुर घिमिरेको घरको कोठामा अहिले करिब ४० क्विन्टल आलु थुप्रिएको छ । मूल्य र माग दुवै नभएपछि घिमिरेले घरको भुइँतलामा आलु फिँजाएर राख्नुभएको हो । त्यसमाथि अहिले गर्मी बढ्दै जाँदा दैनिक ५ देखि १० किलो आलु कुहिएरै फ्याँक्नु परिरहेको छ ।

पहिलो त आलुको माग छैन । अनि दोस्रो- आक्कलझुक्कल माग भइहाले व्यापारीले १२ रुपैयाँभन्दा बढी दिन मानिरहेकै छैनन् । जबकि, प्रतिकिलो २० रुपैयाँ नपाए लगानी उठ्दैन । काभ्रेकै भरतप्रसाद घिमिरे र गोविन्दप्रसाद घिमिरे पनि करिब १० रोपनीमा फलाएको १ सय ८० क्विन्टल आलु नबिकेर हैरान हुनुहुन्छ । यो समस्या भोग्ने उहाँहरू मात्र होइन ।

काभ्रेको पनौती नगरपालिकामा मात्रै अहिले करिब एक हजार क्विन्टल आलु बिकेको छैन । नगरपालिकाका कृषि अधिकृत सन्तोष पाण्डेयका अनुसार यी आलु किन बिकेनन् थाहा छैन । नगरपालिकासँग किसानको आलु किनिदिने आर्थिक स्रोत नभएको पनि उहाँको भनाइ छ ।

यता जिल्लाको कृषि विकास कार्यालयलाई पनि आलु नबिकेको त थाहा त छ, तर बिक्री चक्र कहाँ बिथोलियो, थाहा छैन । बरु कार्यालय प्रमुख कुलप्रसाद दवाडी भारतबाट आएको आलु सस्तो हुने भएकाले स्थानीयको उत्पादन नबिकेको हुनसक्ने आकलन गर्नुहुन्छ । ठोस जवाफ उहाँसँग पनि छैन ।

तर, नेपाल आलुमा करिब करिब आत्मनिर्भर नै भएको र ९० प्रतिशत माग राष्ट्रिय उत्पादनले नै धानेको आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका प्रमुख पदमप्रसाद अधिकारी बताउनुहुन्छ । अर्कोतर्फ कृषि मन्त्रालयले पनि आधिकारिक च्यानल हुँदै भारतबाट आलु नआएको दाबी गरेको छ । 

मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठका अनुसार भारतीय आलु सामान्यतः स्थानीय आलु निख्रिँदै गएपछि मात्र आउने हो । जुन स्थिति अहिले नभएको उहाँको भनाइ छ । त्यसो भए बजारमा आपूर्ति चाहिँ कसरी भइरहेको छ त ? यो बुझ्न हामी देशकै ठूलो तरकारी बजार कालिमाटी पुग्यौँ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।