आईसीसी महिला च्यालेन्ज ट्रफी : रूवान्डामाथि नेपालको रोमाञ्चक विजय

वैशाख ९, २०८३ |विनयज्योति सापकोटा
आईसीसी महिला च्यालेन्ज ट्रफी : रूवान्डामाथि नेपालको रोमाञ्चक विजय

काठमाडौं । आईसीसी महिला टी–२० आई च्यालेन्ज ट्रफीमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। 

रूवान्डा क्रिकेट रंगशाला किगालीमा बुधबार दिउँसो सम्पन्न भएको खेलमा नेपालले घरेलु टिमलाई २ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको रूवान्डालाई नेपालले १९ ओभर चार बलमा अलआउट गराएको थियो। घरेलु टिमले ८८ रन बनाएपछि नेपालले जितका लागि ८९ रनको लक्ष्य पाएको थियो। 

सो लक्ष्य नेपालले १९ ओभर चार बलमा पूरा गरेको हो। रूवान्डाका ओपनर फनी उतागुसि-मनिन्दे २ र गिसे इसिमवे एक रनमा नै आउट भए। एलिस इकुज्वेले १७ तथा मावेली उवासीले १५ रनको योगदान गर्दै इनिङ सम्हाल्ने प्रयास गरेको भए पनि निरन्तरता दिन सकेनन्। 

यो साझेदारी पुजा महतोले तोडेकी थिइन्। यस्तै, रोनि उवेराले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि रचना चौधरीले तीन विकेट लिएकी थिइन्। त्यसैगरी, कविता कुँवर र पुजा महतोले समान २-२ विकेट लिएका थिए।

जवाफमा नेपालले सुरुआतबाट नै सम्हालिएर खेल्यो। विन्दु रावल १० रनमा नै आउट भए पनि उनले सम्झना खड्कासँग ५१ रनको साझेदारी गरिन्। पुजाले १३ रनको योगदान गरेकी थिइन्। सम्झना भने अर्धशतक बनाउन मात्रै २ रनले चुकिन्। ४७ बलमा ४८ रन बनाएको अवस्थामा उनलाई हेनरिच इसिमीले क्लिनबोल्ड गरिन्। 

उनी आउट हुँदा नेपाल नेपालले २ विकेट क्षतिमा ७४ रन बनाइसकेको थियो। तर, त्यसपछि १५ रन जोड्ने क्रममा नेपालले छ विकेट गुमाएको थियो। इन्दु बर्मा एक, कविता कुँवर शून्य, कविता जोशी एक, रूविना क्षेत्री २ र रूबि पोदार एक रनमा नै आउट भएका थिए।

रूवान्डाका उवासीले तीन विकेट लिए पनि नेपालको जित रोक्न सकेनन्। बुधबारको खेलसँगै नेपाल र रूवान्डाको समान ४-४ अंक भएको छ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।